ओली पागल होइनन्, हामी जनता पागल हौ : दिपकराज गिरी



deepak rajरंग खबर, काठमाण्डौं । चर्चित हाँस्य व्यंग्य कलाकार दीपकराज गिरीले एमाले अध्यक्ष केपी ओलीलाई पागलको संज्ञा दिनु गलत भएको तर्क गरेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको १९ दलीय मोर्चाको बुधवार बसेको बैठकले ओलीलाई मानसिक अवस्था कमजोर भएको ठहर गरेपछि दीपकराजले आफ्नो फेसबुकबाट यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले पागल कोहि पनि नभएको तर्क गर्दै नेताहरुलाई संबिधान बनाउने जटिल काम सुम्पने सोझा जनता चाहि पागल भएको व्यंग्यात्मक टिप्पणी समेत गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्– ‘प्रचण्ड लगायतका नेताहरूले ओलीलाइ पागल भयो भनेछन्, मेरो बिचारमा यो सरासर ग़लत हो । ‘न ओली पागल हुन् न प्रचण्ड , तपाइहरू जस्ता ब्यक्तिलाइ संबिधान बनाउने जटिल काम सुम्पने हामी  सोझा जनता चाहि पागल हौ ।’

एमालेका अध्यक्ष ओलीले ३० दलीय मार्चामा आवद्ध दलहरुलाई १० अर्व रुपैयाँ दिए आन्दोलन रोकिन्छ भन्ने अराजनीतिक, भ्रामक, निराधार अभिव्यक्ति दिएको भन्दै उनीमाथि ‘पागल’ को संज्ञा दिँदै उपचार व्यवस्था गर्न सरकारसँग माग गरिएको थियो । ओलीलाई यस्तो आरोप लगाइएपछि दिपकराजले फेसबुकमार्फत आफ्नो भावना पोखेका हुन् । दिपकराज हाल आफ्नो फिल्म ‘वडा नम्वर ६’ को छायांकनमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्