यसकारण ‘धुन’ चैत ६ मा रिलिज नहुने । जेठ पहिलो साता आउने



रंग खबर, काठमाण्डौं । प्राविधिक काम नसकिएको र पब्लिसिटी पनि नपुग्ने अवस्था आएको भन्दै चैत्र ६ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘धुन’ को रिलिज पोष्टपोण्ड भएको छ ।
dhoon poster1‘हामी जुन तयारीका साथ चैत्र ६ मा रिलिज गर्न लागिपरिरहेका थियौँ, त्यो अनुसार सम्पादनको काम पनि नसकिने अवस्था आयो र पब्लिसिटी पनि सोचेअनुसार पुग्ने नदेखेर रिलिज मिति सार्ने निर्णयमा पुग्यौँ’, निर्माता मालती शाहले भनिन् । उनका अनुसार अब यो चलचित्र जेठ पहिलो साता मात्रै रिलिज हुनेछ ,यद्धपी मिति भने तय भएको छैन् । क्लासिक स्टुडियो बिजुलीबजारमा सम्पादनको क्रममा रहेको यो चलचित्रले साँगितिक प्रेम कथालाई समेटेको छ ।

कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र सर्दै गर्दा यसको प्रत्यक्ष फाईदा भने चैत्र १३ मा आउने चलचित्र ‘भुलभुलैया’ लाई पुगेको छ । अघिल्लो हप्ता प्रदर्शनमा आउने भनिएको ‘धुन’ का मुख्य कलाकार जीवन लुईटेल र नीता ढुङ्गाना नै योगेश घिमिरे निर्देशित ‘भुलभुलैया’ का प्रमुख कलाकार रहेकोले पनि एउटै कलाकार हुँदा दुबै फिल्मलाई प्रभाव पर्ने बताउँदै आइएको थियो ।

चैत्र ६ मिति एसएलसी परिक्षाको बीचमा पर्नुको कारण पनि फिल्म सार्नुको अर्को कारण हुनसक्छ । ‘धुन’ मा जीवन र नीतासँगै मुकेश ढकाल लिड रोलमा छन् । विरेन्द्र भट्टले खिचेको यो चलचित्रमा सुशिल शाह, विनोद भट्ट, श्रेया दुलाल, मधुसुदन ढकालको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्