संचारमन्त्रीको हातबाट सौगात विष्टलाई गिनिज बुकको प्रमाण पत्र (फोटोफिचर)



रंग खबर, काठमाण्डौं, फागुन ०८– गिनीज बुक अफ द वल्र्ड रेकर्ड्समा विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल सौगात विष्टलाई आज राजधानीमा एक कार्यक्रमका बिच प्रमाणपत्र हस्तान्तरण गरिएको छ । सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालको हातबाट उनलाई गिनिज बुकबाट प्राप्त प्रमाण पत्र हस्तान्तरण गरिएको हो ।

saugat bista
प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री रिजालले विश्वकै कान्छा निर्देशकको रुपमा गिनीज बुक अफ द वल्र्ड रेकर्डस्मा सौगातको नाम लेखिएकोमा नेपालले नै गर्व गर्नुपर्ने बताए । ‘सौगातजीले देशकै नाम राख्नु भयो । यसमा सौगात जी मात्रै नभएर सिंगो नेपालले नै गर्व गर्नुपर्छ’, उनले भने । उनले यो सफलताप्रति सौगातजीको अभिभावकको समेत महत्वपुर्ण भुमिका रहेको भन्दै विशेष धन्यवाद दिए । ‘यसरी नै हरेक आमा बाबुले आफ्ना सन्तानलाई सौगातको जस्तै वातावरणमा हुर्काउर्नु पर्छ’, उनले सल्लाह दिए ।

saugat  bista 3
यस्तै कार्यक्रममा विश्वकै कान्छा निर्देशक सौगात विष्टले खुसी र दुःखको दुवै कुरा सुनाए । आफ्नो फिल्म ‘लभ यू बाबा’ हेर्न दर्शक हलसम्म नगएकोमा उनले दुःख व्यक्त गरेका थिए । ‘आज खुशीको दिनमा यस्तो दुखको कुरा गर्न त नहुने हो तर पनि मैले यो गर्नैपर्छ’, कार्यक्रममा उनी भन्दै थिए– ‘म आज धेरै खुसी छु । तर हलमा फिल्म चलेन यसमा मलाई अत्यन्तै दुख लागेको छ ।’ ‘सानो फुच्चेले फिल्म निर्देशन गरेको भन्दै कतिपयले विश्वास गर्नुभएन भन्ने सुने तर अब त गर्नुहुन्छ भन्ने विश्वास लागेको छ’, उनले थपे ।

सौगातले ७ वर्ष ३ सय ४० दिनको उमेरमा फिचर फिल्म ‘लभ यू बाबा’ निर्देशन गरेर गिनिज बुक अफ द वल्र्ड रेकर्ड्समा कान्छो निर्देशकका रुपमा नाम लेखाएका हुन् । गिनिज बुकले आफ्नो अफिसियल वेभसाईटमा यसको घोषणा एक महिना अघि नै गरेपनि प्रमाणपत्र भने भर्खरै प्राप्त भएको हो ।
saugat bista 2

त्यस्तै हाल ९ वर्ष पुगिसकेका सौगातले कार्यक्रममा आफ्ना आमा बुवालाई समेत विशेष धन्यवाद दिए । उनले फिल्मलाई पुर्न–प्रदर्शन गरिने समेत बताए । फिल्ममा उनका पिता नायक गजित विष्ट र दिदी संगम विष्टको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्