नायिका झरना थापाको निर्देशनमा बन्ने ‘ए मेरो हजुर २’ को छायांकन जेठबाट



रंग खबर, काठमाण्डौं । नायिका झरना थापाले पहिलो पटक निर्देशन गर्ने फिल्म ‘ए मेरो हुजुर २’ को छायाँकन सरेर आउँदो वर्षको जेठ महिनामा पुगेको छ । एस.के थापा प्रोडक्सनको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गर्ने फिल्म ‘ए मेरो हजुर २’ को यही फागुन महिनामा छायाँकन सुरु गर्ने योजना थियो ।

jharana thapa1jpg
सासु आमाको बराखी सकिएपछि चोखिएर मात्रै आउँदो वर्ष ०७१ सालको जेठ महिनादेखि फिल्म ‘ए मेरो हजुर २’ को छायाँकन सुरु गर्ने नायिका, निर्मात्री एवं निर्देशक झरना थापाले बताइन् । फिल्मको सुटिङ ढिलिएको बारे झरनाले भनिन्, ‘धर्म गुरुलाई देखाउँदा पनि जुठो चोखिएर फिल्मको छायाँकन सुरु गर्दा शुभ हुन्छ भनेपछि फागुनबाट जेठमा पुर्याइएको हो ।’ निर्माता एवं झरना पती सुनिल कुमार थापाकी आमा गत वर्षको असार महिनामा भारतको उत्तराखण्ड राज्यमा गएको बढी पहिरोमा परी वेपत्ता भएकी थिइन् । उनी त्यहाँ दर्शनार्थी भएर पुगेकी थिइन् ।

फिल्म ‘ए मेरो हजुर २’ मा नायक स्वतन्त्र प्रताप शाह खेल्ने पक्का भैसकेको छ भने भुवन केसी पुत्र नायक अनमोल केसीसँग फिल्म खेल्ने बारे कुरा चल्दैछ । युवा लभ स्टोरीमा आधारित फिल्म ‘ए मेरो हजुर २’ मा बसन्त सापकोटाले संगीत भर्दैछन् । स्व.शिव रेग्मी निर्देशित फिल्म ‘ए मेरो हजुर’ सुपरहिट फिल्म हो । जसमा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्