प्रेममा जबरजस्ती राजनीति घुसेपछि बन्ने भो ‘कबड्डी कबड्डी’



रंग खबर, काठमाण्डौं । निश्चल बस्नेतको निर्माणमा बनेको यो वर्षको सुपरहिट फिल्म ‘कबड्डी’ को सिक्वेल ‘कबड्डी कबड्डी’ को छायांकन आउँदो फागुन २५ गतेबाट शुरु हुने भएको छ । राजधानीमा शनिवार एक कार्यक्रमका बिच निर्माणको औपचारिक घोषणा गर्दै फिल्मको विषयमा जानकारी दिइएको हो ।
kabadi kabadi
कबड्डी खेल प्राय सीमा नाघिएपछि र आफ्नो समुहमा जबरजस्ती कोही छिरेपछि शुरु हुन्छ । गएको वैशाखमा रिलिज भएको पहिलो ‘कबड्डी’ मा प्रेमको सीमा नाघिएको थियो । तर अब निर्माण हुने यसको सिक्वेलमा भने जबरजस्ती प्रेममा राजनीति घुस्ने छ । निर्माण पक्षका अनुसार ‘कबड्डी कबड्डी’ प्रेम र राजनीतिको भिडन्त हो ।

९५ प्रतिशत दृश्य मुस्ताङमा खिचिने यो फिल्मलाई पनि पहिलो कबड्डीका निर्देशक रामबाबु गुरुङले नै निर्देशन गर्ने भएका छन् । फिल्मको कथा पनि रामबाबुले लेखक उपेन्द्र सुब्बासंग मिलेर सँयुक्त रुपमा लेखेका हुन् । यो फिल्ममा प्रायजसो कबड्डीका सबै कलाकार दोहोरिने भएका छन् । यसअघिका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङसंगै यो पटक सौगात मल्ल पनि मुख्य भुमिकामा देखिने भएका छन् ।

पुरुषोत्तम प्रधानको समय नमिलेपछि यो पटक भने फिल्मलाई शैलेन्द्र डि कार्कीले खिच्ने समेत कार्यक्रममा जानकारी दिइएको छ । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, कुमार महर्जनको द्धन्द, रोहित शाक्यको पाश्र्व संगीत रहनेछ । सुनीलचन्द्र रौनियार र रौनकविक्रम कँडेल निर्माता रहने यो फिल्मका कार्यकारी निर्माता भने निश्चल बस्नेत नै रहनेछन् ।
kabadi final
कस्तो हुनेछ ‘कबड्डी कबड्डी’ ?
पात्र पुरानै, ठाउँ पुरानै, मायाप्रेम उस्तै र लडाई झगडा पनि उस्तै । मुस्ताङ चारकिल्ला क्षेत्र । नौँरीकोट गाउँ । थकाली समाज । मुखियाको छोरो ‘बीर काजी’ र काजीको मामाकी छोरी ‘मैया’ । कुटेम्बेरी साइनो । एकोहोरो प्रेम र एकोहोरो उपेक्षा । भोटको राजनीतिसंगै शहरबाट आउँछ नयाँ अनुहार – बमकाजी । अनि शुरु हुन्छ राजनितिको गर्मीमा प्रेमको भीडन्त ‘कबड्डी कबड्डी’ ।
kabaddi kabadi 2

पहिलो कबड्डीका नायक काजीको ‘निरन्तर प्रेमकथा’ नै फिल्म ‘कबड्डी कबड्डी’ पनि मूलकथा रहनेछ । हक र धाकधम्कीबाट परै रहेर प्रेम गर्न खोज्दा पनि काजीले सुख पाउँदैनन् । निश्चल प्रेममा फोहोरी राजनीति मिसिन आइपुग्छ । फेरी कथामा एउटा भिलेन आइपुग्छ । यसपालीको भिलेन बंशभित्रैबाट आएपछि काजीको पारो तात्छ । अनि शुरु हुन्छ भीडन्त । आदर्श प्रेमको देहावसान र राजनीतिको तिगडम शुरु भएसंगै यो फिल्मको कथा उत्कर्षमा पुग्ने र टुंगिने निर्माण पक्षले उपलब्ध गराएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्