प्रताप लामाले चुमे ‘नेपाली तारा ३’ को उपाधी । को हुन् त उनी ?



रंग खबर, काठमाण्डौं ।  नेपालको चर्चित सांगितिक रियालिटी शो ‘नेपाली तारा ३’ को उपाधि प्रताप लामाले चुमेका छन् । फाइनलका लागि सुरेश लामा, प्रताप लामा र देबेस राई छानिएका थिए जसमध्ये निर्णायकबाट प्राप्त अंक र दर्शकको भोटको आधारमा प्रतापले उपाधी जितेका हुन् ।
nepali tara 3 winner

उपाधी चुमेसँगै प्रतापले एउटा बजाज डिस्कोभर मोटरसाइकलसहित २ लाख ५० हजार रुपैयाँ हात पारेका छन् भने तीनवटा गीत गाउने अवसर पाएका छन् । देवेश फस्ट रनर अप भएका छन् भने सुरेशले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

शुक्रवार भएको फाइनलमा उत्कृष्ट तीन प्रतियोगीले आफ्नो अन्तिम प्रदर्शन दिएका थिए । अन्तिम १० मा पुगेका प्रतियोगीहरुले जनही ११ हजार रुपैयाँ पाउनुका साथै ‘टप टेन’ एल्वममा गाउने अवसर पाउने आयोजकले जनाएको छ ।

‘कोका–कोला नेपाली तारा ३’ को यात्रा गत भदौ १७ मा धरानबाट सुरु भई नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुँदै काठमाडौं आएको थियो ।

को हुन् प्रताप लामा ?
Pratap Lama Nepali Tara
‘कोका–कोला नेपाली तारा ३’ का विजेता प्रताप लामा मोरङ्ग जिल्लाको सिचुवाका स्थायी बासिन्दा हुन् । ‘नेपाली तारा ३’ मा आएर लामाले आफुलाई एक ‘स्टाइलिस तथा ट्रेण्डी’ प्रतियोगीका रुपमा प्रस्तुत गरेका छन् । यसका साथै लामाले आफ्नो सुमधुर आवाजमा प्रतियोगिता भरि विभिन्न शैलीका गीतहरु गाउँदै आफुलाई उत्कृष्ट ३ सम्म पुर्याउन सफल भएका थिए । लामाले काठमाडौँबाट अडिसन दिँदा नारायण गोपालद्वारा गाइएको गीत “हिमाल सरि अडि रहेछु” गाएर कोका–कोला नेपाली तारा ३ मा प्रवेश गरेका थिए । उनले गाएको “अलिकति नजर तिम्रो” गीतमा उनले निर्णायकहरु तथा दर्शक सबैको प्रशंसा बटुलेका थिए । प्रताप नेपाली ताराको दोस्रो संस्करणका दोस्रो रनर अप सूर्य किरण लामाका भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस्