सरकारद्वारा ‘राष्ट्रिय चलचित्र नीति’ पारित । अब ऐन बनाउने बाटो खुल्यो



रंग खबर, काठमाण्डौं । अन्तत : लामो समयदेखि आउने भनिएको ‘राष्ट्रिय चलचित्र नीति’ पारित भएको छ । शुक्रबार बिहान बसेको मन्त्रि परिषद्को बैठकमा अर्थ तथा पूर्वाधार समितिले सो नीति पारित गरेको राजधानीमा आयोजित एक कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले जानकारी गराएका हुन् ।
minendra rijal

‘आज म तपाइहरुलाई एउटा खुशीको कुरा सुनाउँदैछु । सरकारले राष्ट्रिय चलचित्र नीति पारित गरेको छ ।’,   मन्त्री रिजालले कार्यक्रममा भने । सरकारले चलचित्र नीति पारित गरेपछि अब यस अनुसार ऐन बनाउनुपर्छ र त्यसलाई संसदले पारित गर्नुपर्छ । सरकारले नीत पारित गरेपछि अब ऐन बनाउने बाटो खुलेको छ ।

रिजालको भनाई अनुसार नेपाली फिल्मको निर्यात, मौलिक फिल्म निर्माण तथा छायाँकनका कुराहरुलाई मुख्य प्राथामिकतामा राख्दै उक्त नीति पारित गरिएको हो । बरिष्ठ फिल्मकर्मी यादव खरेलको संयोजक्त्वमा सरकारले केही समय अघि चलचित्र नीति बनाउन समिति तयार गरेको थियो।

यस्तै संचार मन्त्रालय अन्तरगत रहेको नेपाल चलचित्र विकास बोर्ड हाल अध्यक्ष बिहिन छ । धरमेन्द्र मरवैता पप्पुको कार्यकाल सकिए पछि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न सकेको छैन । मन्त्री रिजालले रिक्त रहेको चलचित्र बिकाश बोर्डमा समेत छिट्टै अध्यक्ष नियुक्त गर्ने समेत कार्यक्रममा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्