७१ सालमा भित्रिए जो



–अनिल यादव
स्टारका अनुहारले पनि दर्शक फिल्महलतिर नसोझिएपछि यो वर्ष धेरै फिल्मले नयाँ अनुहार भित्राए। दुई दर्जनभन्दा बढी नयाँ कलाकार हिरो–हिरोइनका रूपमा नेपाली रजतपटमा देखापरे । नेपाली फिल्म इतिहासमा मुख्य भूमिकामा यति धेरै नयाँ अनुहार आएको यो पहिलोपल्ट हो । तीमध्ये कतिपय दोहोरिसके भने कतिपय आशलाग्दा अनुहारका रूपमा देखिएका छन् । उनीहरूले अभिनय गरेका फिल्म नचले पनि कलाकारका रूपमा उनीहरू चल्न सक्ने छाँटकाँट देखिएको छ । तर, तीमध्ये मन छुने अभिनय गर्ने भने न्यून छन् ।
hema shresthaAnna Sharmaजेठ ९ गते रिलिज भएको फिल्म ‘हँसिया’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू भएकी नायिका हुन्, हेमा श्रेष्ठ । एक्सनप्रधान यो फिल्मबाट उनले एक्सन नायिकाका रूपमा प्रशंसा समेत बटुलिन् । फिल्म हिट हुन नसके पनि उनको अभिनय रजतपटमा ‘हिट’ भयो । स्टन्टका दृश्यसमेत दिएकी ‘हँसिया’ मा उनको एक्सन दमदार थियो । जसकारण मोडल तथा कोरियोग्राफर समेत रहेकी हेमालाई यही फिल्मले ‘एक्सन हिरोइन’ का रूपमा जम्ने सम्भावना देखाएको छ । तर, हेमा अब फिल्म क्षेत्रमा नदेखिने बुझिएको छ ।

कतिपय नायिकाहरू दर्जनौँ फिल्म खेल्दा पनि चर्चा कमाउन सक्दैनन् । तर, अनमोल केसीको जोडी बनेर ‘जेरी’ बाट डेब्यू भएकी नायिका आना शर्मालाई भने पहिलो फिल्ममै चिट्ठा पर्यो । उनको अभिनयले तारिफ त पायो नै, सँगसँगै उनलाई नेपाली फिल्म क्षेत्रको आशलाग्दो अनुहार पनि बनाएको छ । ¥याम्प कोरियोग्राफर रचना गुरुङ शर्माका छोरी आना अहिले ए लेभल अध्ययनरत छिन् । पहिलो फिल्मबाटै प्रशंसा पाएपछि आना भन्छिन्, ‘अब गम्भीर भएर अभिनयलाई निरन्तरता दिने सोचमा छु ।’

छविराज ओझा निर्मित फिल्म ‘लज्जा’ बाट डेब्यू गरेकी अभिनेत्री शिल्पा पोखरेल अर्को आशलाग्दो अनुहार हुन् । पर्दामार्फत महिला सशक्तीकरणको बुलन्द आवाज दिएकी शिल्पाको कामलाई दर्शकले रुचाए । निर्माता ओझा पनि खुशी भए । जसकारण अन्य दुई फिल्ममा पनि उनलाई नै हिरोइनका रूपमा लिएका छन् । ‘हवल्दार सुन्तली’ मा प्रमुख भूमिका पाएकी शिल्पा ‘किस्मत २’ मा पनि हिरोइन हुने पक्का भएको छ । करिश्मा मानन्धरको निर्माणमा बनिरहेको फिल्म ‘फागु’ मा समेत शिल्पा नै अनुबन्धित भएकी छिन् ।

थुप्रै गुरुङ भाषाका फिल्ममा अभिनय गरिसकेकी रिश्मा गुरुङ ‘कबड्डी’ बाट हिरोइनका रूपमा चिनिइन् । फिल्मसँगै उनले पनि सफलताको स्वाद चाखिन् । पोखरामा रहँदै गर्दा उनलाई ‘कबड्डी’ को लागि अफर आएको थियो । सुरुमा उनले काम गर्न मानेकी थिइनन् । तर, पछि यही फिल्मले उनलाई चिनायो । अहिले उनको हातमा दुइटा फिल्म छन्, ‘झुम्की’ र कबड्डीकै सिक्वेल ‘कबड्डी कबड्डी’ ।

Sudarshan gautamयही वर्ष नेपाली फिल्मको इतिहासमा पहिलोपटक दुवै हात नभएका हिरो बने, सुदर्शन गौतम । उनलाई नायिका रेखा थापाले आफ्नै फिल्म ‘हिम्मतवाली’ बाट आफ्नो जोडीका रूपमा डेब्यू गराइन् । ‘अपांगता असक्षमता होइन’ भन्ने तथ्यलाई सुदर्शनले अभिनयमार्फत प्रस्ट पारे । नेपाली मूलका क्यानडियन नागरिक सुदर्शनले सगरमाथा आरोहण गरेर गिनिज बुकमा नामसमेत लेखाएका छन् । अहिले उनी ‘सुपरहिरो’ फिल्ममार्फत फेरि अभिनयलाई निरन्तरता दिने तयारीमा रहेको बताउँछन् ।

यही वर्ष डेब्यू भएका केही कलाकार यही वर्ष दोहोरिए । फिल्म ‘जिन्दगी रक्स’ बाट हिरोका रूपमा प्रवेश भएका सौरमराज तुलाधार ‘षडङ्ग’ मा पनि प्रमुख भूमिकामा देखिए । उनको पहिलो फिल्मले अपेक्षित व्यापार गर्न सकेन, तर उनको अभिनयले निरन्तरता पायो । म्युजिक भिडियोका मोडलका रूपमा चिनिएका सौरम अहिले नायकका रूपमा चिनिँदै छन् ।

नायिकाद्वय अनिता आचार्य र आश्मा डीसी पनि डेब्यू वर्षमै दुइटा फिल्मका नायिका बने । अनिताको दुवै फिल्म ‘सरी ल’ र ‘अलबिदा’ चलेनन् । तर, पनि उनको अभिनयको तारिफ भयो । भीजेबाट हिरोइनका रूपमा ‘आभास’ बाट डेब्यू भएकी आश्मालाई पनि ‘नाइँ नभन्नू ल–३’ मा अभिनय गर्ने अवसर मिल्यो । उनको डेब्यू फिल्मले सोचेजस्तो व्यापार नगरे पनि उनको सक्रियतामा रोक लागेन । रेखा थापाको आगामी फिल्म ‘रामप्यारी’ मा समेत उनको भूमिका रहने बताइएको छ ।

रेडियो नाटक लेखक र निर्देशकका रूपमा चिनिएका खगेन्द्रप्रसाद लामिछाने नेपाली रंगमञ्चमा चर्चित नाम हो । विगत १५ वर्षदेखि रंगमञ्चमा सक्रिय उनी यही वर्ष फिल्म ‘टलकजंग भर्सेस टुल्के’ बाट हिरोका रूपमा उदाए । ज–जसले फिल्म हेरे, प्रायःले उनको अभिनयको खुलेर प्रशंसा गरे । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘पशुपति प्रसाद’ को प्रमुख भूमिकामा पनि देखिन लागेका खगेन्द्रको रुचि चाहिँ लेखन हो ।

आर्यन सिग्देल स्टारर ‘नोभेम्बर रेन’ बाट यही वर्ष रजतपटमा छाएकी छुल्ठिम गुरुङ पनि धेरैका आँखामा पर्न सफल देखिइन् । भीजेबाट नायिका बनेकी छुल्ठिमको चर्चा अहिले सेलाएको छ । तर, धेरैले भनेका थिए– ‘उनको अभिनय चर्चा गर्न लायक छ ।’ छुल्ठिम गायक धीरज राईकी श्रीमती थिइन् । अहिले उनीहरूको डिभोर्स भइसकेको छ ।

aayusha raiधेरैजसो मोडलहरू यो वर्ष नायक–नायिकाका रूपमा फिल्मनगरीमा भित्रिए । ‘बिर्खेलाई चिन्छस्’ बाट आयुषा राई, ‘रङ बैजनी’ बाट दिक्पाल कार्की, ‘जिन्दगी रक्स’ बाट अकेशा विष्ट यसकै उदाहरण हुन् । यी तीनैजनाको फिल्मले अपेक्षा गरेजस्तो व्यापार गरेनन् ।

स्वर्गीय आलोक नेम्वाङ निर्देशित ‘अझै पनि’ बाट धेरैले आशा गरेका थिए । प्रचारबाजी पनि ठूलै थियो । यद्यपि फिल्म चल्न सकेन । तर, यही फिल्मबाट ‘डेब्यू’ गरेकी सुरक्षा पन्तको अभिनयले भने तारिफ पायो । यता फिल्म ‘ताण्डव’ बाट ¥यापर लाहुरे अर्थात् आशिष रानालाई निर्माता मोहन डोटेलले अभिनयमा ल्याए । सबैले सोचेका थिए– ‘फिल्म राम्रो होला, चल्छ ।’ तर त्यसो भएन । ‘लाहुरे’ लाई हेर्न गएका दर्शक निराश भए ।

आफैँ लगानी गरेर हसन राजा खानले फिल्म ‘अलबिदा’ बाट यही वर्ष हिरो बन्ने धोको पूरा गरे । केही फिल्ममा सामान्य भूमिकामा खेल्दै आए पनि हसन यो फिल्ममा प्रमुख कलाकार बने ।

निर्माता राजकुमार राईको फिल्म ‘वन वे’ बाट यो वर्ष दुई नवकलाकार भित्रिए, सिद्धार्थ गुरुङ र माला लिम्बू । पहिलोपटक ‘गुडबाई काठमान्डू’ मा काम गरेको भए पनि प्रदर्शनका आधारमा ‘वन वे’ मालाको पहिलो फिल्म हो ।

यसैगरी फिल्म ‘स्टुपिड मन’ बाट पनि दुई नवनायिकाको प्रवेश भयो । जापानमा बस्दै आएकी चाँदनी शर्मा र भीजे रिजु श्रेष्ठ एकसाथ यो फिल्मबाट डेब्यू भएका हुन् । फिल्म ‘माला’ बाट प्रज्वल गिरी , ‘विधवा’ बाट सोनु घिमिरे र ‘इस्केप’ बाट प्रदीप खड्का पनि यसैवर्ष नेपाली रजतपटमा भित्रिए ।
साभार : शुक्रवार साप्ताहिक

प्रतिक्रिया दिनुहोस्