भूकम्प पीडितले दिपाश्रीलाई सोधे– ‘तिमी सरकार हौ र ?’



राहत वितरण अनुभूती
दिपाश्री निरौला

अभिनेत्री
महाभैँचालो गएको केही समयमै सयौँले ज्यान गुमाएका खबर सुनेँ । धेरै ऐतिहासिक संरचनाहरु ध्वस्त भएको थाहा पाएँ । धेरै परिवार घरबारविहिन भएको सुने । ज्यान गुमाएकालाई त श्रद्धाञ्जली दिनबाहेक अरु के नै गर्न सकिन्थ्यो र ? तर जसले आफ्नो घर गुमाए, जो विचल्लीमा परे, उनीहरुलाई प्राथमिक राहतको खाँचो थियो । मैले २५ वर्ष संघर्ष गरेर बनाएको घर भत्किएको भए त्यसले म मा के पीडा निम्त्याउँथ्यो, त्यो म कल्पनै गर्न सक्दिनँ । त्यतीबेला मेरो मनमा खेलेको विषय पनि हो यो ।
deepa
सरकार हौ र ?
भूकम्पपछिको दोश्रो दिन म व्यक्तिगत रुपमा केही खाद्य सामग्री लिएर काठमाण्डौँको साङ्ला गाविस पुगे । जहाँ कोही पनि राहत लिएर पुगेका थिएनन् तर गाउँमा अधिकाशं घर ध्वस्त थिए । त्यँहा एक जना पीडित महिला भन्दै थिइन्– ‘एघार गते अघि सबै कुरा थियो नानु, १२ गते हुँदा केही पनि छैन् । हाम्रो त बेहाल भयो ।’ उनको यो कुराले मेरो मन कटक्क खायो । एक वृद्धाले त मलाई प्रश्न नै सोधिन्– ‘सरकारले पो राहत बाड्नुपर्ने । तिमी सरकार हौ र ? ’ भोलिपल्टदेखि तीन दिनसम्म कलाकारहरुको एक टोली स्वास्थ्य मन्त्रालयको अगुवाईमा जनचेतना र राहत वितरणमा लाग्यो । जहाँ मेरो पनि सहभागिता रह्यो । त्यतीबेला हामी भक्तपुर जिल्लाको कमलविनायकमा पुगेका थियौँ, जहाँ १२ सय परिवारको विचल्ली थियो । राहत आइपुग्यो भनेर सोध्दा सबैले एउटै कुरा भन्थे– ‘अलि अलि आइरा’छ, तर पुगेको छैन् ।’

एफएनसीसीआई को अगुवाईमा हामी रसुवाको घत्लाङ भन्ने निकै विकट गाउँ जादैँ थियौ । धुन्चे पुग्दा हामीलाई त्यहाँका प्रमुख जिल्ला अधिकारीले हिडेर दुई दिन लाग्ने भन्दै नजान आग्रह गरे । हामीले एक ट्रक राहत सामग्री त्यही छोडेर फर्कने निधो ग¥यौँ । राहत वितरणका क्रममा परमशक्तिपीठ नामक संस्थासँगको सहकार्यमा नुवाकोटको टोखा, गुर्जे लगायतका थुप्रै भूकम्प पीडित गाउँमा राहत लिएर पुग्यौँ । त्यहाँका दृश्य पनि उस्तै दर्दनाक थिए । भूकम्पले असर पारेका सबै गाउँका पीडा उस्तै लाग्थे । सबैका घर ध्वस्त । सबैलाई खानलाउनको समस्या । तर, पनि उनीहरु हामीलाई सोध्थे– ‘तपाईहरुलाई त केही भएन नि ?’ पीडितहरुको त्यो महानता देख्दा खुशी लाग्थ्यो ।

फिल्मको दृश्य, फिल्ममै सिमित
प्रदर्शनको तयारीमा रहेको हामी निर्मित फिल्म ‘वडा नम्बर ६’ का धेरै दृश्यहरुको छायांकन नुवाकोटको दरबार आसपास गरेको थियौँ । ती ठाउँहरु सबै ध्वस्त भइसकेछन् । काठमाण्डौँको माइतीघरमा ‘वाइयात छ तिम्रो लभ स्टोरी’ बोलको गीतको छायांकन गरिएको राम मन्दिर पनि भग्नावशेषमा परिणत भइसकेछ । फिल्मका दृश्य अब फिल्ममै सिमित हुने भइसकेका थिए । फिल्ममा अभिनेत्री प्रियंका कार्कीको घरको रुपमा देखाइएको पाँचखालस्थित तीनपिप्लेको घर, काभ्रेस्थित नालामा देखाइएको दयाहाङ र धुर्मुसको घर र माँझी गाउँमा देखाइएको माग्नेबुढाको घर सबै ध्वस्त भएछन् ।
राहत वितरणपछि अब पुननिर्माणमा लाग्नुपर्छ । सबै कलाकर्मीहरु आ–आफ्नो क्षेत्रबाट लागिरहनुभएको छ । हाम्रो एउटा समूहको पहलमा भारतीय धार्मिक संस्था परमशक्तिपीठले काठमाण्डौँको चौँगाउमा ७५ घर निर्माण गर्दै छ ।
साभार: शुक्रवार साप्ताहिक

प्रतिक्रिया दिनुहोस्