मेरो नाममा बाजी खेल्छन् : माग्ने बूढो



फरक/रोचक

नेपाली हास्यव्यंग्यको क्षेत्रमा जमेको नाम हो, ‘माग्ने बूढो’ । कलाकार केदार घिमिरेलाई वास्तविक नामले भन्दा यही नामले धेरैले चिन्छन् । उनी ‘माग्ने बूढो’लाई गरिबीको रेखामुनि रहेका ३७ लाख नेपालीको प्रतिनिधि मान्छन् । हास्य टेलिशृंखला ‘मेरी बास्सै’ बाट ‘माग्ने बूढो’ का रूपमा चिनिएका केदारले अनिल यादवसँग आफ्ना जीवनका केही तीता–मीठा घटना बाँडेका छन् ।
magnebudo
क्लासविनाको विद्यालय
अचेल त अभिभावक आफ्ना नानीहरूलाई विद्यालय भर्ना गर्नुअघि त्यहाँ के–के सुविधा छ भन्ने बुझ्छन् । तर, मेरो शिक्षा त्यस्तो विद्यालयबाट सुरु भयो, जहाँ कक्षाकोठा नै थिएनन् । मकवानपुरस्थित ठिंगन गाउँमा रहेको कालीदेवी प्राविबाट मेरो पढाइ सुरु भएको थियो । सानो टहरामा सञ्चालन भएको त्यो विद्यालयमा ग्रुपग्रुप बनाएर विद्यार्थी पढाइन्थ्यो । शिक्षकहरू कहिले आउँथे, कहिले आउँदैन थिए । मेरो घरबाट स्कुलको झ्याल देखिन्थ्यो । स्कुलको पियनले झ्याल खोलेपछि टिचर आएको थाहा हुन्थ्यो । अनिमात्र घरबाट पढ्न पठाउँथे ।

‘त्यस्तो बूढोसँग बिहे गरेको’
म ‘माग्ने बूढो’ भनेर चिनिएँ । तर, मेरा आफन्तहरू ‘माग्ने बूढो’ नभएर अरू नै कुनै दानी पात्र भएको भए हुने भन्ने चाहन्छन् । एकपटक मेरी श्रीमतीको गाउँमा बिहे थियो । उनी त्यहाँ गएकी थिइन् । त्यतिबेला साइनोले हजुरआमा पर्ने एकजनाले उनीसँग ‘ज्वाइँ भेट्न पाएकी छैन’ भनेर गुनासो गरिछिन् । ‘उहाँलाई टिभीमा देख्नुभा’को छैन र ?’ भनेर मेरी श्रीमतीले सोधिछिन् । ‘भर्खरको केटा पाइएन र ? त्यस्तो बूढासँग बिहे गरेको ?’ भनेर हजुरआमाले भन्नुभएछ । श्रीमतीले घरमा आएर मलाई यो कुरा सुनाउँदा धेरै हास उठेको थियो ।

कलाकार भन्दा पत्याएनन्
‘माग्ने बूढो’ भन्नेबित्तिकै थोत्रो दौरासुरुवाल, इस्टकोट र बाँदरे टोपी लगाएको अनुहारमा दाह्री भएको बूढो मान्छे भन्ने बुझ्छन् । तर, पर्दा र स्टेजमा मात्र म यस्तो हुलियामा देखिन्छु । केही वर्षअघि पोखराको फेवातालमा महोत्सव आयोजना गरिएको थियो । त्यहाँ मलाई पनि बोलाइएको थियो । सबै टिकट बिक्री भइसकेको रहेछ । म सामान्य हुलियामा थिएँ । त्यहीँ पुगेपछि ‘ड्रेसअप’ गर्न लागेको थिएँ । गेटबाट छिर्न खोज्दै थिएँ, त्यत्तिकैमा पुलिसले समातेर बाहिर हुत्याइदियो । म कलाकार हुँ भन्दा पनि पत्याएनन् । मलाई चिनेनछन् । पछाडि आइरहेका आयोजकका साथीहरूले चिनाएपछि मात्र भित्र छिर्न पाइयो ।

बाजी खेल्छन्
म ‘केदार’ बनेर हिँड्दा पनि केहीले त चिन्छन् । तर, धेरैले चिन्दैनन् । ‘कन्फ्युज’ हुने पनि धेरै हुन्छन् । माग्ने बूढोे हो कि होइन भनेर झुक्किँदा रहेछन् । धेरैले बाजी खेल्छन् । अनि, तपाईं ‘माग्ने बूढो हो ?’ भनेर मलाई आएर सोध्छन् ? ‘हो’ भनेपछि फोटो खिचाउँछन् । मैले बाजी जिते भन्दै कुराकानी गरिरहेका हुन्छन् । मसँग धेरै पटक भएको घटना हो यो ।

प्रेमको हुलाकी
म सानै छँदा आमा बित्नुभयो । मेरो बाल्यकाल कष्टकर रह्यो । प्रेमतिर मेरो ध्यान कहिल्यै गएन । कसैसँग प्रेम भएन । ह्यान्डसम थिइनँ, त्यही भएर पनि होला । सक्दो मेकअप गर्दा पनि हुन सक्दिनँ । म त प्रेम गर्नतिर भन्दा पनि जोडी मिलाउनेतिर सक्रिय थिएँ । मलाई त साथीहरूले प्रेमको चिठी पो बोकाउँथे । म पनि पर्याइदिन्थे । सन्देश आदानप्रदान गरिदिन्थेँ । म प्रेमको हुलाकी थिएँ ।

कहिल्यै नछुट्ने जनै
मेरो शरीरमा जनै कहिल्यै छुट्दैन । साथीहरूमा मबाहेक कसैले जनै लगाएका हुँदैनन् । उनीहरूसँग पौडी खेल्दा धेरैपटक हाँसोको पात्र पनि भएको छ । जनैमा शक्ति हुन्छ भन्ने कुरामा म विश्वास गर्छु । त्यस्तै अर्को नछुटने चिज भनेको मैले चोर औँलामा लगाउने सुनको औँठी हो । ज्योतिषको सल्लाहअनुसार मैले त्यो औँठी लगाएको हुँ ।

होचो हुनुको पीडा
जन्मँदै होचो भएकाले मलाई सबैले हेप्थे । सानो छँदा पिङ खेल्न गयो भने पालै दिँदैन थिए । फुटबल खेल्न गयो भने खेलाउँदैन थिए । आउट भएको बल टिप्न लगाउँथे । सात कक्षा पढ्दाखेरिको कुरा हो । नयाँ हेल्थ टिचर आउनुभएको थियो, चौधरी सर । पहिलो दिनै उहाँले भलिबल खेल्न सिकाउने भन्नुभयो । सबै बल खेल्नतिर लागे । म पनि खेलिरहेको थिएँ । त्यत्तिकैमा चौधरी सरले ‘सानो भुराले खेल्ने चिज होइन’ भन्दै ग्राउन्डबाट निकालिदिनुभयो । म त कालोनीलो भएँ । होचो भएकाले उहाँलाई म सात कक्षाको विद्यार्थी भन्ने लागेनछ । पछि साथीहरूले भनिदिए । त्यस्तै, म ९ कक्षामा पढ्दा घरबाट हिरो जेट साइकल किनिदिनुभएको थिए । त्यतिबेला म हेटौँडा बसेर पढ्थेँ । साइकल अग्लो, म होचो भएकाले खुट्टाले पाइडल भेट्दिन थिएँ । त्यही भएर मलाई सधैँ साथीहरूले कुदाएर लान्थे ।

म राम्रो पौडिबाज
म राम्रो पौडीबाज हुँ । सानोमा मकै पिसाउन घट्ट जानुपथ्र्यो । त्यतिबेला घण्टौँ कुनुपथ्र्यो । हामी साथीहरूसँग मिलेर नजिकै रहेको खोलामा पौडी खेल्थ्यौँ । को छिटो पौडिने भनेर बाजी खेल्थ्यौँ । एकपटक ‘मेरी बास्सै’ का लागि दुवै हात पछाडि बाँधेर, आँखामा पट्टी लगाएर त्रिशुलीमा खसालिदिने सिन थियो । मैले त्यो जोखिम उठाएकोे थिएँ । धेरैले ‘बौलाइस्’ पनि भने । त्यो एपिसोड साह्रै हिट भएको थियो ।

मेरो बारेमा मलाई नै सोध्छन्
धनगढीमा कार्यक्रम थियो । म होटलमा बसिरहेको थिएँ । मेरा फ्यानहरूले ‘माग्ने बूढो’ यही होटलमा बसेको छ भन्ने सुइँको पाएछन् । होटलवालालाई साधेर म भएको कोठामै आएका थिए, दुईजना युवा । उनीहरूले ‘माग्ने बूढो यहाँ हुनुहुन्छ रे’ भन्दै मेरा बारेमा मलाई नै सोधे । म हाँसेँ । यस्तो धेरै पटक भएको छ ।

सुनको औँठी दिने फ्यान
फ्यान धेरै किसिमका भेटे । फोटो खिचाउने र अटोग्राफ माग्ने धेरै भए । तर, मेरो जीवनमा सबैभन्दा महँगो गिफ्ट दिने एकजना वृद्धालाई बिर्सन सक्दिनँ । हङकङको कार्यक्रममा उहाँले सुनको औँठी दिनुभएको थियो । ‘म तपाईंको ठूलो फ्यान हुँ’ भन्नुहुन्थ्यो ।

प्रतिक्रिया बुझ्न भात होटल
‘मेरी बास्सै’ सुरु गर्दाताकाको कुरा हो । हामी त्यतिबेला आफ्नो सिरियलको प्रतिक्रिया बुझ्न भात होटल जाने गथ्र्याैं । कुन सिनमा दर्शक बढी हाँस्दा रहेछन्, इन्जोय गर्दा रहेछन् भनेर बुझ्थ्यौँ । र, त्यही अनुसार सिरियल बनाउनतिर लाग्थ्यौँ । यो कारणले पनि ‘मेरी बास्सै’ लोकप्रिय भयो ।
(साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्