आठ वर्ष अरूका ढोका ढकढक्याएँ : संगीतकार विकास चौधरी



करिअर संघर्ष

विकास चौधरी
संगीतकार
bikash chaudhariजतिबेलादेखि मैले गीतसंगीत सुन्न थालेँ, त्यतिबेलादेखि नै पारखी भएँ । स्कुलका हरेक कार्यक्रममा गाउन थालेँ । मेरो गृह जिल्ला झापाको कुनै गाविस छैनन् होला, जहाँ मैले आफ्नो प्रस्तुति नदिएको होस् । टोल–टोलमा गएर गाउने गर्थें । मेरा शिक्षक खिलप्रसाद शिवाकोटी मेरो स्वरको प्रशंसा गर्नुहुन्थ्यो । पाँच कक्षा पढ्दाको कुरा हो । उहाँले एक दिन मलाई ‘तिमी साह्रै राम्रो गाउँछौ, अभिभावकलाई भनेर संगीत सिक’ भन्नुभयो । मैले ‘हुन्छ’ भनेँ । तर, मेरो परिवारको आर्थिक अवस्था कमजोर थियो । त्यही भएर मैले बुबालाई यो कुरा भन्ने आँट गरिनँ ।

एक दिन सर आफैँले यो कुरा बुबालाई सुनाइदिनुभएछ । त्यसपछि बुबाले मलाई पाँच कक्षा पढ्दैखेरि संगीतको विद्यार्थी बनाइदिनुभयो । भद्रपुरको देवकोटा संगीत साधना प्रतिष्ठानमा गुरु हरि दाहालसँग संगीत सिक्न थाँले । सिकेको दुई वर्षपछि यो प्रतिष्ठान बन्द भयो र बिर्तामोडको संजोग कला केन्द्रमा कुशेश्वर राईसँग संगीत सिक्न गएँ । करिब पाँच वर्ष झापामा संगीत सिँके । प्रयाग संगीतमा डिप्लोमा गरेँ ।

यो दौरानमा संगीत सिक्न धेरै दुःख गरियो । मेरो बुबा पेशाले किसान । उहाँँसँग संगीत इन्स्टिच्युटलाई फी तिर्ने पैसा हुँदैनथ्यो । घरमा आफूलाई खान फलाएको धान र गहुँ बेचेर पैसा तिरिदिनुहुन्थ्यो । अभिभावक र मेरा गाउँलेबाट ‘ठूलो गायक बन्छस्’ भन्ने हौसला पाउँथेँ । उहाँहरूकै प्रेरणाले एसएलसी पास गरेपछि संगीतमा संघर्ष र उच्च शिक्षा हासिल गर्न काठमाडौँ छिँरे । काठमाडौँमा मेरा आफन्त कोही थिएनन् । मसँग केही गर्न सक्छु भन्ने आत्मविश्वासबाहेक केही थिएन । धेरै दुःख गरेँ । ललितकला क्याम्पसमा स्नातक गरेँ । गायक बन्नका लागि धेरै डुलेँ । धेरै संगीतकारको ढोका ढकढक्याएँ । ‘हुन्छ, म गाउने अवसर दिन्छु’ भन्थे । तर, कसैले अवसर दिँदैनथे । मसँग पैसा हुँदैनथ्यो । ‘नमस्कार’ गरेकै भरमा मलाई कसैले नपत्याएको जस्तो लाग्थ्यो ।

०६२ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा म उत्कृष्ट भएँ । अझै पनि मलाई कसैले पत्याएनन् । राजधानी छिरेपछि संगीतकारको ढोका ढकढक्याउँदैमा मेरा आठ वर्ष बिते । तर, उपलब्धि केही भएन । त्यही इखका कारण आज म संगीतकार बनेको हुँ ।

म हिँडेर संगीतकारकोमा धाउँथेँ । मेरा संघर्षका दिनमा चार जोर जुत्ता फाटेका थिए । फाटेका जुत्ता मैले अझै सुरक्षित राखेको छु । जुन दिन म सबै नेपालीसामु चिनिन्छु, ‘हिट’ हुन्छु, त्यो दिन ती जुत्ता देखाउनेछु । किनकि, ती जुत्तामा मेरो संघर्षको कथा लुकेको छ ।

०६२ सालको १९ दिने जनआन्दोलनका बेला राजधानीमै थिएँ । त्यतिबेला घरमा चामल सकिएको थियो । पसलहरू बन्द थिए । संघर्ष गर्दै गरेको केटो थिएँ । मसँग केही उपाय थिएनन् । चिउरा र पानी खाएर १९ दिन बिताए । घरबाट ममीले खाना खाँदै गरेको बेला फोन गर्नुहुन्थ्यो । अनि खाना खाइस् भनेर सोध्नुहुन्थ्यो । म खाएँ भन्थेँ, तर भोकै हुन्थेँ ।

तर, मैले हरेस खाइनँ । बुबाले घरमा धान बेचेर पठाएको पैसाले काठमाडौँको भाडा तिर्दा–तिर्दा म दुःखी भइसकेको थिएँ । त्यही भएर मैले काठमाडौँको संगीत इन्स्टिच्युट र स्कुलमा संगीत सिकाउन थालेँ । अहिले पनि ‘संगीत पाठशाला’ खोलेर सयभन्दा बढी विद्यार्थीलाई सिकाइरहेको छु ।

मेरो खास रुचि पाश्र्व गायन हो । सानोमा फिल्म हेर्दा ठूलो भएर यस्तै गीत बनाउन पाए हुन्थ्यो भन्ने सोच्थेँ । संघर्ष गर्दै जाँदा एक दिन मलाई फिल्म ‘सिन्दुर’ का लागि निर्देशक गोविन्द गौतमले गाउन ‘अफर’ गर्नुभयो । ०६४ सालको कुरा हो, उहाँ मेरो संगीत र गायकी दुवैबाट प्रभावित हुनुभयो । पछि मेरो स्वरसँग फिट हुने त्यो गीत नै फिल्ममा फिट नहुने भयो । अनि, त्यही फिल्मबाट मलाई संगीतकारका रूपमा डेब्यू गराइयो । स्वरूपराज आचार्य र अञ्जु पन्तको स्वरमा मेरो संगीत रहेको ‘कलकल जवानी’ बोलको गीत निकै रुचाइयो । कलेक्सन एल्बममा धेरै गीत गाए पनि त्यो गीतबाट म पाश्र्व संगीतकारका रूपमा चिनिएँ ।

त्यस दिनयता मैले पछाडि फर्केर हेर्नुपरेको छैन । सयौँ गीतमा मैले संगीत भरिसकेको छु । करिब सय फिल्ममा संगीत दिइसकेँ । आठवटाजति फिल्ममा त मेरो एकल संगीत छ । नेपालीसँगै भोजपुरी फिल्ममा पनि संगीत दिइरहेको छु । मेरो पहिलो एल्बममा ‘यादभरि तिमी’ मा समावेश ‘तिमीलाई हेर्न मेरा आँखा’ मैले आफैँ गाएको पहिलो गीत हो । स्रोताले रुचाएका पनि थिए ।

अञ्जु पन्तले गाएको ‘माया माया भन्छन् दुनियाँ’, राजेशपायल राई र रजिना रिमालको स्वर रहेको ‘तिमी नै हो मेरो मुटु’, ‘उर्वशी’ फिल्मको शीर्ष गीत आदि स्रोताले मन पराएका मेरा गीत हुन् । ०७१ सालमा रिलिज भएको फिल्म ‘यो कथा तिम्रो मेरो’ को ‘बब्ली तेरो जोवन’ पछिल्लो हिट गीत हो । मेरो संगीतमा राजेशपायलको स्वर रहेको यो गीत ०७२ को प्रायः अवार्डमा नोमिनेसनमा परेको छ । प्रदर्शनको तयारीमा रहेका फिल्म ‘स्काउट’, ‘चलेछ बतास सुस्तरी’ र ‘काफल पाक्यो’ मा रहेका गीतमा पनि मेरो संगीत छ ।

संगीत भनेको मेरा लागि अन्तरआत्माका कुरा, वेदना अरू समक्ष पोख्ने माध्यम हो । गीत–संगीतको मर्म बुझेर मात्र गाउनुपर्छ भन्ने मलाई लाग्छ । म मेलोडी संगीतकार हुँ । मिठासपूर्ण संगीत गर्न रुचाउँछु । तर, पछिल्लो समय विकृति पनि बढेको छ । ‘मौसमी फूल’जस्ता उखरमाउला गीतहरू गाउन रुचाउँदिनँ । सदाबहार गीत गाउन मन पर्छ ।

प्रस्तुतिः अनिल यादव (साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्