अभिनेत्री पुजा शर्मा भन्छिन्, ‘लेभल मेन्टेन नगरेपछि कसले गन्छ ?’



फिल्म ‘मधुमास’ बाट डेब्यू भएकी अभिनेत्री हुन्, पूजा शर्मा । उनले त्यसपछि आलोक नेम्वाङ निर्देशित ‘अझै पनि’ खेलिन् । उनकै अभिनय रहेको अर्को फिल्म ‘चंखे शंखे पंखे’ प्रर्दशनको तयारीमा छ । उनले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः

अभिनय यात्रा कसरी सुरु भयो ?
एसएलसी दिनेबित्तिकै म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएकी हुँ । सुगम पोखरेलको ‘स्कुल पाठशाला’ बोलको गीतमा अभिनय गरेकी थिएँ । पहिलो भिडियो नै हिट भयो । त्यसपछि फेरि ‘असारे महिना’ बोलको गीतमा अभिनय गरँे । त्यो पनि प्रशंसित भयो । अनि, म अभिनय यात्रामा अघि बढेँ ।
pooja

हिरोइन बन्ने रहर सानैदेखिको थियो ?
हो । म सानैदेखि अभिनयमा रुचि राख्थेँ । यतिसम्म कि एसएलसी दिएपछि म्युजिक भिडियोमा अभिनय गर्न नदिए कलेज नै पढ्दिनँ भनेर ममीलाई घुर्की लगाएकी थिएँ । अर्को रमाइलो कुरो, म सानोमा केटाजस्तै थिएँ । केटाकै जस्तो कपाल काटेकी थिएँ । शाहरूख खानको ‘डाइहार्ड’ फ्यान थिएँ । उनको फिल्म हेर्दा रुन्थेँ । टीभीमा देख्दा ‘शाहरूखसँगै बिहे गर्छु’ भन्थेँ । आफ्नो जन्मदिन मनाउँदिन थिएँ, तर शाहरूखको मनाउँथेँ । साह्रै अबुझ दिएँ । शाहरूखका लागि साथीहरूसँग लड्थेँ पनि । ठूलो भएर शाहरूखलाई भेट्न पाउँछु कि भनेर पनि हिरोइन बन्ने रहर पालेकी थिएँ ।

अझै त्यस्तै हुनुहुन्छ ?
होइन, अहिले त अलि ‘कन्ट्रोल’ मा आइसकेँ । तर, शाहरूखको अभिनयचाहिँ आज पनि मन पर्छ । आज पनि मलाई मन पर्ने अभिनेता उनी नै हुन् । उनकै कारण अभिनयमा तानिएकी हुँ , प्रभावित भएकी हुँ ।

तपार्इं निरन्तर सुदर्शन थापाको फिल्ममा मात्र देखिरहनुभएको छ । अरू ब्यानरले नपत्याएर हो ?
त्यस्तो त हुँदै होइन । म हिमालयन टीभीमा काम गर्दाको कुरा हो । मलाई ‘मेरो लभस्टोरी’ फिल्मका लागि सुर्दशनजीले अफर गर्नुभएको थियो । उहाँले ‘तिम्रो फोटोहरू पठाऊ’ भन्नुभयो । म पनि घमण्डी थिएँ । ‘मेरो त्यत्रो भिडियो हिट भएका छन्, तर पनि फोटो माग्ने ?’ भनेर मैले त्यतिबेला फिल्म खेलेकी थिइनँ । साँच्चै भन्नुपर्दा त्यतिबेला मेरो सबैभन्दा अप्रिय डाइरेक्टर सुर्दशन थापा नै हुनुहुन्थ्यो । त्यस्तै, मलाई ‘नोभेम्बर रेन’ मा पनि खेल्न अफर आएकै हो । मैले पैसा पनि लिइसकेकी थिएँ । तर, पछि केही कुरामा चित्त नबुझेपछि छाडेकी हुँ । यसरी धेरै फिल्म अस्वीकार गरेकी छु । एक–दुई महिनाका लागि घर छाडेर सुटिङमा टाइम दिनुपर्छ । त्यही भएर जहाँ पारिवारिक वातावरण भेट्छु, त्यो टिमसँग काम गर्न रुचाउँछु ।
puja sharmaकुनै बेलाका अप्रिय डाइरेक्टर अहिले सबैभन्दा प्यारो भएका छन् नि ?
हो । हामी एकदम मिल्ने साथी होँ । ‘क्लोज फ्रेन्ड’ हौँ । बजारमा सुनिएजस्तो केही पनि होइन ।

तर, तपाईंहरूबीच त प्रेम सम्बन्ध छ भन्ने चर्चा व्यापक छ नि ?
त्यो शतप्रतिशत गलत हो । मलाई फिल्म क्षेत्रमा अरू पनि धेरै फिल्मकर्मीले मन पराउँछन् । तर, उनीहरूको नाम कहिल्यै आउँदैन । सधैँ सुर्दशनजीकै नाम आइरहेको छ । हामी सँगै काम गरिरहेका कारण हुनसक्छ । तर, म नहिचकिचाई भन्न सक्छु कि मेरो अर्कै ब्वाइफ्रेन्ड छ । कलेजमा छ । त्यो सुर्दशनजीलाई पनि थाहा छ ।

आफूलाई मन नपर्ने निर्देशकबाटै डेब्यू हुनुभयो । कसरी ?
मैले तीन वर्ष हिमालयन टीभीमा काम गरिसकेपछि फिल्म ‘मधुमास’ का लागि सुर्दशनजीले अफर गर्नुभयो । कथा मन प¥यो । मलाई मन पर्ने अभिनेता आर्यन सिग्देल मेरो ‘हिरो’ भन्ने थाहा भएपछि झन् उत्साहित भएँ । परिवारकै अगाडि सम्झौता गराएर उहाँहरूले मलाई त्यो फिल्मका लागि पक्का गर्नुभयो ।

कतिपय हिरोइनले एउटै निर्माता÷निर्देशकको साथ लिएर आफूलाई स्थापित गराएका छन्, गराउन खोजेका छन् । कतै तपाईंले पनि त्यही गर्न खोज्नुभएको त होइन ?
मैले अघि नै भनिसकेँ म त्यो डाइरेक्टरसँग काम गरिरहेको छु जसको फिल्म कुनै बेला मैले ‘रिजेक्ट’ गरेकी थिएँ । ‘मधुमास’ पछि ‘अझै पनि’ मा अभिनय गरेँ । ‘अझै पनि’ पुनम क्षत्रीको फिल्म थियो । उहाँसँग मेरो दिदी–बहिनीजस्तो सम्बन्ध छ । सुदर्शनजी त त्यो फिल्मको अभिनेता हो । निर्देशक त आलोक नेम्बाङ (दाइ) हुनुहुन्थ्यो । अहिले ‘चंखे शंखे पंखे’ मा पनि निर्माता सन्तोष सेनले ‘तपाईंको ‘मधुमास’को हिरोइनलाई नै यो फिल्ममा राख्नुपर्छ’ भनेर सुर्दशनजीलाई भनेपछि उहाँले मलाई प्रस्ताव राख्नुभएको रहेछ । अर्को फिल्म ‘प्रेम गीत’ मा पनि सन्तोषजीले मलाई नै रोज्नुभयो । जसलाई सुुर्दशनजीले निर्देशन गर्नु हुँदै छ । यही संयोगका कारण हामी सँगै काम गरिरहेका हौँ । यस्तो हुन्छ भने यसमा मेरो के दोष ? केही फिल्ममा लगातार सँगै काम गर्दैमा प्रेमी–प्रेमिका भइहालिन्छ त ?

तीज मनाउनुभयो त ?
म तीज त्यति मनाउँदिनँ । घरतिर नाचगानका कार्यक्रममा सरिकचाहिँ हुन्छु ।

भगवानमा विश्वास छ कि छैन ?
छ । तर, तीजमा व्रतचाहिँ बस्दिनँ । दिउँसो १२ बजे तुलसीको पानी पिएपछि खान थाल्छु । मलाई भाग्यमा जे हुन्छ, त्यो भएरै छाड्छ भन्ने लाग्छ । फेरि विभिन्न भगवान्का पर्व आइराख्छन् । सबैलाई मान्न पनि कहाँ सकिन्छ र ?

प्रदर्शन हुन लागेको फिल्म ‘चंखे शंखे पंखे’ मा तपाईंको भूमिका कस्तो छ ?
यो फिल्मले राष्ट्रप्रेमको भावना जगाउँछ । मैले यो फिल्ममा पत्रकारको भूमिका निर्वाह गरेकी छु । मैले तीन वर्ष हिमालयन टीभीमा रिपोर्टर भएर काम गरिसकेकी हुनाले यो भूमिका निर्वाह गर्न मलाई गाह्रो भएन ।

निर्वाह गर्न मन लागेको कुनै भूमिका छ ?
थियो । जुन मैले फिल्म ‘प्रेम गीत’ मा निर्वाह गरिसकेँ । भर्खरै जोमसोममा छायांकन सकेर आएकी हुँ । अब ‘एक्सन लेडी’ का रूपमा देखिन मन छ । एक्सन फिल्म गर्न मन छ ।

‘प्रेम गीत’मा तपाईंको क्यारेक्टर कस्तो छ ?
मेरो रियल क्यारेक्टर हो यो । म वास्तवमा जस्तो छु, फिल्ममा पनि त्यही रूपमा प्रस्तुत भएकी छु ।

जस्तो ?
जस्तो, म वास्तवमा एकदम ‘फ्य्रांक’ छु । लप्पनछप्पन जान्दिनँ । रिस उठ्यो भने केटा–केटी कोही चिन्दिनँ, जसलाई नि कुट्दिहाल्थेँ । लज्जालु पनि छैन । फिल्ममा पनि मैले यस्तै हकी केटीको भूमिका निर्वाह गरेकी छु ।

अहिले पनि मान्छे कुट्दै हिँड्नुहुन्छ त ?
होइन । अहिले त धेरै सप्रिसकेँ । कक्षा ११ पढ्दासम्म त म धेरै रिसाहा थिएँ । साथीको लागि जे गर्न तयार हुन्थेँ । यूकेजीदेखि १२ कक्षा सम्म होस्टेलमा बसियो । त्यतिबेला साथीका निहुँमा धेरै ‘ग्याङफाइट’ गरियो । अहिले विगत सम्झँदा हास उठ्छ ।

नेपाली फिल्ममा जमिएला जस्तो लाग्छ ?
जमे पनि, नजमे पनि ठीकै छ । आफ्नो तर्फबाट सक्दो मेहनत गर्ने हो ।

धेरै कलाकार विदेश पलायन भइरहेका छन् । यो क्षेत्रमा टिक्न गाह्रो हो ?
सत्य के हो भने अधिकांश कलाकारको आम्दानीको स्रोत यहाँ धेरै हुँदैन । मैले देखेको छु, धेरैले यो क्षेत्रमा ‘स्याक्रिफाइस’ गरेका छन् । अब मेरै कुरा गर्ने हो भने पनि मैले ममीलाई मेरो कमाइको पैसा भनेर दिएँ भने ‘यसले त चामल पनि आउँदैन’ भनेर ठट्टा गर्नुहुन्छ । हाम्रो इन्डस्ट्रीको अवस्था हो यो । यहाँ कुरा काट्ने र खुट्टा तान्ने प्रवृत्ति बढी छ । यसको सट्टा फिल्म क्षेत्रको विकासका लागि लाग्दा राम्रो हुन्थ्यो । मैले मेरो भविष्य यही क्षेत्रमा बनाउने सोच राखेकी छु । यही क्षेत्रका लागि निरन्तर काम गर्ने योजना छ ।

नेपाली कलाकारले ‘स्टारडम’ बनाउन नसकिरहेको अवस्था छ नि । किन होला ?
म यसमा हामी कलाकारकै दोष देख्छु । हाम्रो आफ्नै कारणले स्टारडम नबनेको हो । हामी कलाकारको आचरण यस्तो छ कि हामी आफैँ पत्रिकामा फोन गरेर ‘मेरो फोटो किन नछापेको ?’ भन्छौँ । छाप्न लगाउँछौँ । आफ्नो ‘लेभल मेन्टेन’ नगरेपछि हामीलाई कसले गन्छ ? हामी जहाँ पनि पुगिरहेका हुन्छौँ । कहाँ के गर्नु हुन्छ भन्ने कुरा ख्याल राख्दैनोँ । अनि कसरी बन्छ त स्टारडम ? मलाई नेपालमा स्टारडम भनेको राजेश हमालको मात्र छ जस्तो लाग्छ । उहाँले अहिलेसम्म मेन्टेन गर्नुभएको छ ।

फिल्म निर्माण पनि गर्दै हुनुहुन्छ क्यारे ।
हो । आफ्नै लगानीमा फिल्म ‘मिरा’ बनाउँदै छु । अहिलेसम्म यही नाम पक्का भएको छ । पछि परिवर्तन हुन पनि सक्छ । अहिले ‘स्क्रिप्ट’ को काम भइरहेको छ । यो फिल्ममा कलाकार सबै नयाँ हुनेछन् । खोजी भइरहेको छ । मैले व्यवस्थापनमा ध्यान दिने भएकाले अभिनय नगर्ने भएकी हुँ ।

फिल्ममा काम गर्नुअघि अभिनय सिक्नुभयो ?
सिकेँ । अनुप बराल र वीरेन्द्र हमालसँग तीनमहिने अभिनय कोर्स गरेकी थिएँ ।

एउटी अभिनेत्री हुनका लागि ‘प्याकेज’ मा के–के हुनुपर्छ जस्तो लाग्छ ?
कथाले मागेको जति कुरा दिन सक्नुपर्छ जस्तो लाग्छ । यसको अर्थ जे पाए त्यहीचाहिँ होइन । चाहिने कुरा दिनुपर्छ । अभिनयमा सम्झौता गर्नु हुँदैन ।
(साभार: शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्