भद्रगोलका ‘बले’ भन्छन्, ‘साथीको टिसर्टले हिट भएँ’



पछिल्लो समय चर्चामा रहेको हास्य टेलिसिरियल ‘भद्रगोल’का पात्र हुन्, ‘बले’ अर्थात् सागर लम्साल । उनले सिरियलमा बोल्ने ‘ए आम्मा हो’, ‘सही कुरो बोरो, ‘कुरो’ जस्ता थेगो अहिले धेरैका मुखमा झुन्डिएका छन् । लम्सालले अनिल यादवसँग आफ्ना जीवनका केही रोचक घटना यसरी बताए :
Sagar Lamsal 'Bale'
आमालाई ढाँटेर मोडलिङ
तेस्रोपटक जन्डिस लागेपछि भारतमा सीए पढ्दै गरेको म नेपाल फर्केको थिएँ । त्यसपछि काठमाडौँको शंकरदेव क्याम्पसमा बीबीएस ज्वाइन गरेँ । यत्तिकैमा एकदिन ममीले ‘क्यानडा अप्लाई गर् न छोरा’ भनेपछि म घरबाट २५ सय रुपियाँ लिएर आईईएलटीएस क्लासमा भर्ना हुनका लागि राम्रो इन्स्टिच्युट खोज्दै पुतलीसडकमा हिडिँरहेको थिए । तीनवटा इन्स्टिच्युट पुगिसकेको थिएँ । कुनैमा चित्त बुझेको थिएन । मैले ब्रिटिस काउन्सिलको अगाडि विदेशीहरूले पढाउँछन् भन्ने सुनेको थिएँ । त्यही भएर त्यतातिर लागेँ । ममा सानैदेखि कलाकारिताको भुत चढेको थियो । इन्स्टिच्युटको वार्ड खोज्दै जाँदा एउटा घरमा ‘मोडलिङ इन्स्टिच्युट’ लेखेको बोर्ड देखेँ । केही नसोची त्यो घरमाथि चढेँ । मोडलिङ सिकेको पाँच हजार लाग्दो रहेछ । मैले २५ सय मात्र छ भनेँ । घरमा आमालाई आइल्स भर्ना भएँ भनेर ढाँटेँ । मोडलिङ सिक्न थालेको १०–१२ दिनपछि आमाले थाहा पाउनुभयो । त्यतिबेला भक्कु गाली खाएको थिएँ ।

‘बले’ पनि ‘हिरो’
आफूलाई सानैदेखि म ‘हिरो’ देख्थेँ । कक्षा–५ मा पढ्दा एकपटक सरले ‘ह्वाट इज योर एम’ भनेर सोध्दा मैले ‘माई एम इज टू बी हिरो’ भनेर जवाफ फर्काएको थिएँ । त्यतिबेला सबै हाँसेका थिए । म पहिले हिरो भनेको मिलेको जिउडाल, ज्यान बनाएको ह्यान्डसम केटो मात्र हुन्छ भन्ने ठान्थेँ । तर, अहिले ‘क्यारेक्टर’ नै हिरो हो भन्ने बुझेँ । यसर्थमा ‘बले’ पनि ‘हिरो’ हो ।
sagar lamsal 'Balee'सिरियलमा सोझो, बाहिर छट्टु
‘भद्रगोल’मा देखिने ‘बले’ एकदम सोझो छ । तर, रियलमा म त्यस्तो छैन । छट्टु छु, चलाख छु । सिरियलमा ‘बले’लाई घरपरिवारको मतलब हुँदैन । वास्तवमा म त्यस्तो छैन । म जहाँ गए पनि तीन–तीन घण्टामा आमासँग कुरा गर्छु ।

साथीको टिसर्ट लक्की
मैले ‘भद्रगोल’मा लगाउने टिसर्ट आठ वर्षअघिको हो । त्यतिबेला म कक्षा १२ को परीक्षा दिँदै थिएँ । हामी साथीहरूसँग मिलेर ‘कम्बाइन्ड स्टडी’ गथ्र्यौं । त्यही क्रममा एकदिन ठूलो पानी परेर म निथ्रुक्क भिजेँ । अनि, समिर गौतम नाम गरेको साथीको टिसर्ट लगाएँ । त्यो टिसर्ट मलाई लाउँदा पनि नसुहाउने खालको थियो । मैले त्यत्तिकै राखिरहेको थिएँ । पछि ‘भद्रगोल’मा ‘बले’ क्यारेक्टरका लागि यही टिर्सटले ‘तोर्पे’ देखिएला भनेर लिएर गएँ । सबैले ‘ओके’ भने । अहिले त यही साथीको टिर्सटले पो हिट बनायो । अहिले समिरले भेट्दा ‘मेरो टिसर्ट लगाएर नै हिट भइस्’भन्दै जिस्काउँछ । आमाले पनि अरू कपडाभन्दा यसलाई बढी जतन गरेर धोइदिनुहुन्छ ।
bhadragol baleeअचम्मको फ्यान
सिरियलमा देखिने ‘बले’को पनि ‘डाइहार्ड फ्यान’ हुन्छन् भन्ने मैले सोचेको पनि थिइन् । त्यस्तो ‘बिजोग’ पात्रको के फ्यान होलान् भन्ने लाग्थ्यो । तर, एक दिन मलाई एकजना अचम्मको फ्यानले भाइबरमा कुरा गरी । काठमाडौँ, कलंकी बस्दी रहेछ । मलाई सीधै ‘आई लभ यू’ र ‘बिहे गरौँ’जस्ता प्रस्ताव राखी । मैले मेरो वास्तविक रूप देखेकी छौ भनेर सोधेँ । ‘जस्तो भए पनि मलाई हुन्छ’ पो भनी । पछि वास्तविक फेसबुक आईडीमा मेरो वास्तविक रूप देखेपछि चकित परिछ । अहिले पनि कुराकानी भइरहन्छ । भेटेको भने छैन । फ्यान सम्झेर ‘रेस्पोन्स’ दिइरहेको छु ।

November 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  

सीधै अँगालो हाल्ने फ्यान
अघिल्लो वर्षको कुरा हो । हेटौँडामा कार्यक्रम थियो । म र ककरोच गएका थियोँ । त्यतिबेला प्रस्तुति दिइसकेर स्टेजबाट ओर्लिनासाथ एकजना युवती आएर सीधै अँगालो मारी । अनि, ‘मेरा बा–आमाले तपाईं सिरियलमा देख्नेबित्तिकै ‘ऊ तेरो बूढो आयो’ भन्दै जिस्काउँछन्’ भनेर सुनाई । मेरो घरमा खाना खान जाऊँ भनेर जिद्दी गरी । रोएर हैरान पारी । कक्षा–१० मा पढ्छु भन्थी । अर्को कार्यक्रममा जानु छ भनेर बल्लतल्ल फकाएको थिएँ ।

‘ज्वाइँ बनाउँछु’ भन्ने वृद्ध
पर्वतको हातेमालो भन्ने स्थानमा कार्यक्रम हुँदाको कुरा हो । एकजना वृद्ध रक्सी पिएर, फिट्टान भएर मकहाँ आइपुगे । सीधै ‘सोलमारी हान्न जाऊँ’ भने । ‘बलेलाई आज मेरो छोरी दिने हो, ज्वाइँ बनाउने हो’ भन्दै हात हल्लाउन थाले । उनको हात हल्लाई मलाई मन प¥यो । अहिले ‘भद्रगोल’मा ‘सही कुरो बोरो’ भन्दाखेरि जसरी म हात हल्लाउँछु, त्यो उनकै कपी गरेको हुँ ।

नचिन्दाको दुःख
मलाई धेरैले बाहिर हिँड्दा चिन्दैनन् । ‘ककरोच’ र म सँगै हिँड्दा धेरैपटक मेरैअघि फ्यानहरूले मेरो कुरा गरेका छन् । ‘ककरोच’को कपाल उसको पहिचान बनिसकेको छ । त्यसैले उसलाई सजिलै चिन्छन् । ‘त्यो बले दाइ रियलमा पनि त्यस्तै छ हो ?’ भनेर मेरै अघि सोधेका छन् । ‘ककरोच’ले ‘यहीँ तपार्इंकै अगाडि छ, सोध्नुस् न’ भनेपछि दंग पर्छन् । ‘ओहो, तपाईं नै पो हो बले ? कति ह्यान्डसम !’ भन्दै प्रतिक्रिया जनाउँछन् । अघिल्लो वर्ष बुटवलमा महोत्सव हुँदा त आयोजकले सम्म वास्ता गरेनन् । ‘ककरोच’ र म दुवै गएका थियौँ । ‘ककरोच’लाई अगाडि चारजना प्रहरीले सुरक्षा दिँदा, म पछिपछि एक्लै हिँडिरहेको थिएँ । कसैले बाल दिएनन् । पछि ‘बले’को डे«स लगाएर स्टेजमा चढेपछि मात्र सबैले चिने । त्यसपछि त मेरो पछि चारजना प्रहरी र ‘ककरोच’को पछि दुईजना भएका थिए ।

पाँडेको त्यो झापड
‘भद्रगोल’मा हुने फाइट सिन पनि ‘रियल’ नै हुन्छन् । एक एपिसोडमा मेरो ‘बाउन डन’पात्रसँग एक्लै भिड्न जाने दृश्य थियो । त्यो दृश्य खिच्ने बेलामा लडेर मेरो ढाडको छालै उक्किएको थिया । एक हप्ता बेड रेस्ट गरेको थिएँ । त्यस्तै पाँडेले हानेको झापड त म जिन्दगीभर बिर्सन सक्दिनँ
। ‘बले’ पात्र निभाउँदा मेरो माथिको दाँत जहिल्यै पछाडि र तलको अगाडि हुन्छन् । त्यही भएर पाँडेले झापड हान्ने दृश्य खिच्ने क्रममा मेरो दाँतको चोक्टा नै उक्किएको थियो ।

तीन पात्रको मिश्रण
कसैलाई थाहा छैन, मैले ‘बले’ पात्र कसरी निर्वाह गरेँ ? ‘बले’ भन्ने पात्र तीनजनाको मिश्रण हो । अभिनेता दयाहाङ राईले चुइँगम चपाउने बेलामा बोल्ने अनुहारको हाउभाउ ‘बले’मा पाइन्छ । मैले उहाँकै कपी गरेको हुँ । त्यस्तै शारीरिक हाउभाउ चाहिँ फिल्म ‘लोफर’को सुटिङताका निर्माता छविराज ओझाकोमा काम गर्ने एकजना वृद्धबाट चोरेको हुँ । आवाज चाहिँ मेरो आफ्नै हो ।

कमाइ आमाको खातामा
मेरो हातमा कहिल्यै पनि पैसा टिक्दैन । त्यही भएर म सधैँ आमालाई पैसा राख्न दिन्छु । मेरो कमाइ मेरो बैंक खातामा जम्मा हुँदैन । मेरो कमाइ सधैँ आमाकै खातामा जम्मा हुन्छ ।

घडीप्रेमी
म घडीको असाध्यै सोखिन छु । जहाँ पुगे पनि मेरो हातमा घडी हुनैपर्छ । राती सुत्दा पनि घडी लगाएकै हुन्छु । सपिङमा मात्र मेरो महिनामा करिब २० हजार खर्च भएकै हुन्छ । म सपिङप्रेमी पनि हुँ । (साभार: शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्