फरक/रोचक : ‘इन्सपेक्टर ठानेर सलाम गरे’



sujit thapa finalपछिल्लो समय चर्चामा छ, नेपाल टेलिभजनबाट प्रसारण हुने हास्य सिरियल ‘हाकाहाकी’ । सिरियलमा दुइटा भूमिकामा देखिन्छन्, सुजित थापा । एउटा ‘जिते’ र अर्को ‘डेभिड’ । जितेले बोल्ने ‘आगो पारामा’, ‘तुलाई घाँस’ र ‘डेभिड’ले बोल्ने ‘म त पूरा सुध्रिसकेँ, आई एम टोटल्ली चेन्ज्ड’ अहिले दर्शकले मन पराइरहेका छन् । सुजितले आफूले निर्वाह गरेका पात्रसँग जोडिएका केही घटना अनिल यादवलाई सुनाएका छन्ः

रियल ‘इन्सपेक्टर’ ठान्दा
एक वर्षअघिको कुरा हो । मुड्कु भञ्ज्याङ, काठमाडौँमा ‘भद्रगोल’को सुटिङ भइरहेको थियो । त्यहीँ नजिक ‘भ्यू टावर’ थियो । शनिवार भएकाले भीडभाड थियो । सिरियलमा मेरो प्रहरी इन्सपेक्टरको भूमिका भएकाले त्यही ड्रेसमा थिएँ । त्यत्तिकैमा घुमुवा प्रहरी त्यहाँ आइपुगे । असई र सिपाही थिए । दुवै म भएको ठाउँमा आए र ‘जय नेपाल’ भन्दै शरीर तन्काए । उनीहरूलाई मलाई साँच्चीकै इन्सपेक्टर ठानेछन् । मलाई लाज लाग्यो । ‘म कलाकार हुँ, यो मेरा सिरियलको भूमिका हो’ भनेर उहाँहरूलाई जानकारी गराएँ । उहाँहरू हाँसेर जानुभयो ।
sujit thapaताल–तालका फ्यान
फ्यान ताल–तालका भेटेको छु । कास्कीको खैरेनीटारमा एकजना यस्तो फ्यान भेटेँ, जसको बोलीचाली ठ्याक्कै ‘जिते’को जस्तै रहेछ । त्यही भएर मैले जान्न भन्दाभन्दै पनि जबर्जस्ती घर लगेर छाड्नुभएको थियो । त्यस्तै, भद्रगोलमा ‘माने’को क्यारेक्टर गर्दा झापा खुदुनाबारीका शरणार्थी शिविरका साथीहरू जो अमेरिका पुग्नुभएको छ, उहाँहरू फेसबुकमा कुरा गर्नुहुन्थ्यो । माने ‘वरिष्ठे’को घरमा भतुवा बस्ने र सधैँ झापड खाइरहने पीडित पात्र थियो । सिरियलको त्यो मेरो पात्रले उहाँहरूको वास्तविक जीवनलाई छुँदो रहेछ । पात्रबारे प्रशंसा गर्नुहुन्थ्यो ।

सुटिङका कारण बिरामी
सुटिङका कारण म बिरामी पनि परेको छु । अघिल्लो वर्षको माघको कुरा हो । जाडो मौसम थियो । ‘भद्रगोल’मा जिग्रीले रक्षालाई रातभरि बसेर लाइन हान्ने सिन थियो । सिरियलमा म सोझो र पीडित क्यारेक्टर भएकाले जसले पनि मलाई नै प्रयोग गर्थे । जिग्रीले पनि उसकै पहिरन लगाएर राति जाडोमा मलाई कुराउने सिन थियो । त्यो सिन खिच्न करिब दुई घण्टा नै लागेको थियो । त्यतिञ्जेलसम्म जाडो खेप्दा मलाई ज्वरो नै आएको थियो । तीन दिन घरमा थला परेको थिएँ ।
sujit thapa comedianस्टेजमै ढलेँ
स्कुल पढ्दाको कुरा हो । एकपटक स्टेज नाटक गर्दै थिएँ । महाभारतको विषयमा नाटक भएकाले म यक्षको भूमिका निर्वाह गर्दै थिएँ । प्रचण्ड गर्मी थियो । स्टेजमा प्रस्तुति दिँदादिँदै ढलेछु । त्यसपछि, मलाई हस्पिटल नै पुर्याउनुपरेको थियो ।
sujit thapa 2झुक्किएकी महिला
यही तीजको कुरा हो । ‘हाकाहाकी’ सिरियलमा मेरो र दमन रूपाखेती दाइको सिन थियो । हामी जंगलबाट दतिउन ल्याएर पैसा कमाउने सोचमा थियौँ । सुटिङ कमल विनायकचोकमा भइरहेको थियो । सिनअनुसार म ‘ल आयो आयो, आयुर्वेदिक औषधि, महिला दिदीबहिनीलाई तीजमा काम लाग्छ, आगो पारामा लु किनिहालौँ’ भन्दै कराइरहेको थिएँ । ‘दुई मुठा किन्दा बाँध्ने पराल सित्तैमा’ भनिरहेको थियो । यत्तिकैमा एकजना महिला आएर मलाई कति हो मूल्य भन्दै सोधिन् । ‘अरूलाई २०, तपाईंलाई १० रुपैयाँमा दिनुपर्ला’ भनेँ । उनले स्किम सोध्दा पराल फ्रीमा भनेको त साफ हप्काइन् । ‘तिमीहरू बेच्न बस्या कि चोर्न, ठग्न ?’ भन्दै थर्काइन् । पछि वास्तविकता थाहा पाएपछि लाजले रातोपिरो भएर कतै नहेरी गएकी थिइन् । (साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्