‘अनागत’ अभिनेता अर्पण थापा भन्छन्, ‘ह्याम्लेट बन्ने सपना पुरा भयो’



क्यारेक्टरका कुरा

नेपाली फिल्म क्षेत्रमा परिचित नाम हो, अर्पण थापा । फिल्म ‘सिक सिटी’बाट अभिनयमा प्रवेश गरेका उनले अहिलेसम्म दुई दर्जनजति फिल्ममा अभिनय गरेका छन् । ‘अनागत’, ‘वीरविक्रम’ लगायत केही फिल्म प्रर्दशनको तयारीमा छन् । उनले फिल्म ‘मुखौटा’को निर्देशन पनि गरेका छन् । आफूले निर्वाह गरेका प्रिय पाँच क्यारेक्टरबारे उनले बिष्णु  शर्मा सँग कुरा गरेका छन् :
arpan thapa
कृष्ण
मेरो पहिलो फिल्म ‘सिक सिटी’को यो क्यारेक्टर मलाई प्रिय लाग्छ । यो ठमेलमा बाँचिरहेको एउटा साधारण मान्छेको क्यारेक्टर थियो । जसको सपना अरू जसरी नै पैसा कमाउने र जीवन निर्वाह गर्ने हुन्छ । तर, सबै कुरा जीवनमा सोचेजस्तो हुन्छ भन्ने चाहिँ छैन । त्यही विषयमा थियो यो फिल्म पनि । ड्रामाभन्दा पनि रियालिस्टिक फर्ममा बढी थियो । कृष्ण बन्नलाई मैले ठमेलमा अवसर खोजिरहेका त्यस्ता थुप्रै मान्छेलाई भेटेको थिएँ । उनीहरूको अभावलाई बुझ्न खोजेको थिएँ । सामान्य हिसाबले हेर्ने हो भने कृष्ण हामी सबै हौँ । म यो क्यारेक्टरमा आफ्नोपन पनि पाउँछु ।

बोक्सी
फिल्म ‘छड्के’ को यो क्यारेक्टर गर्दा पनि मलाई निकै रमाइलो लागेको हो । म यो फिल्ममा पूर्ण रूपमा परिवर्तित थिएँ । अनौठो लुक्समा प्रस्तुत भएको थिएँ । फिल्ममा भाषा पनि तराईकै प्रयोग गरिएको थियो । फिल्ममा आफूलाई त्यति ‘ट्रान्सफर्म’ भएको देख्दा खुशी लागेको थियो । फिल्ममा म कालो हुनुपर्ने थियो । जुँगा र लामो कपाल राखिएको थियो । भाषा पनि फरक थियो । यो सब कुरामा वर्कआउट गरिएको थियो ।

ह्याम्लेट
मैले हालै अभिनय गरेको सेक्सपियरको चर्चित नाटक ‘ह्याम्लेट’को चरित्र हो यो । म खासगरी धेरै डायलगमा विश्वास गर्दिनँ । तर, दुई घण्टाको यो नाटकमा डेढ घण्टाको डायलगमात्र थियो । त्यसैले २० दिनको समयमा डेढ घण्टाको डायलग कभरअप गर्न गाह्रो पनि भएको थियो । यो पात्रमा ‘अप्स एन्ड डाउन्स’ धेरै थिए । मलाई लाग्छ– संसारमा धेरै कलाकारको सपना हुन्छ ‘एकचोटि ह्याम्लेट बन्न पाए हुन्थ्यो’ भन्ने । मेरो पनि ‘ह्याम्लेट’ बन्ने सपना थियो । पूरा भयो ।
hamlet arpan thapa
सुरेश
रिलिजको तयारीमा रहेको फिल्म ‘अनागत’को क्यारेक्टर हो यो । फिल्मको ९० प्रतिशतभन्दा बढी सुटिङ सकिसकेको छ । यो फिल्ममा सुरेश साइकोलिजिकल्ली बाँच्ने पात्र हो । ऊ सामान्य मान्छेभन्दा अलि माथि उठेर बाँचेको छ । पात्रमा चुनौती र रमाइलो दुवै छ । फिल्ममा म श्रीमतीले नै मलाई मार्न खोजेको शंका गर्छु ।

अर्जुन
‘धन्दा’मा मैले निर्वाह गरेको यो क्यारेक्टर पनि एकदमै चुनौतीपूर्ण थियो । मैले परिवारलाई सुखी राख्ने सपनासहित विदेश जाने सपना बुन्दा जीवनमा आइपरेको आरोह–अवरोहमाथि फिल्म घुमेको छ । फिल्ममा मेरो लुक्स बनाउँदा पनि मेहनत गरिएको थियो । यो फिल्मको यही क्यारेक्टरबाट मैले नेफ्टा अवार्डमा उत्कृष्ट अभिनेताको अवार्डसमेत पाएको थिएँ । वैदेशिक रोजगारीको प्रलोभनमा परेर धेरै युवा हामीकहाँ ठगिएका छन् । त्यसैले अर्जुन मलाई हाम्रै गाउँ–समाजको पात्रजस्तो लाग्छ ।
साभार: शुक्रवार साप्ताहिक

प्रतिक्रिया दिनुहोस्