नेफटा अवार्डको तयारी तिव्र |१ सय २० फिल्मकर्मी दुबई जाने



रंग खबर, काठमाडौं । चलचित्र प्राविधिक संघ ले आयोजना गर्दै आएको नेफ्टा अवार्डको नवौं संस्करणको तयारीले तिव्रता पाएको छ । मध्यपूर्वको आर्थिक राजधानी युएईस्थित दुबईमा हुने अवार्डका लागि काठमाडौंबाट १ सय २० सिनेकर्मीले भाग लिनेछन् ।
nefta award finalअवार्डका लागि दुबईमा टिकट विक्री जारी छ र यस सातामै सोल्डआउट हुने खबर स्थानीय आयोजकले दिएका छन् । आयोजित प्रेसमिटमा कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा वितरक कम्पनीका राजन अधिकारीले तयारीबारे जानकारी दिए । अल-नासार लिजरल्यान्डस्थित आइस रिंकमा हुने अवार्ड समारोहमा ३ हजार अकुपेन्सी निर्धारण गरिएको छ । नेपालबाट दुबई उड्ने सबै पाहुना चारतारे होटेल रोटानामा बस्नेछन् । सेभेन स्टार इभेन्ट कम्पनीसँग इभेन्ट सम्झौता, भिसा, हवाइ टिकट र कानुनी प्रक्रिया पुरा भैसकेको जनाइएको छ ।

१५ लाख दिराम खर्च लाग्ने बताइएको अवार्डमा पचासदेखि पाँचसय नेरुसम्मका टिकट उपलब्ध हुनेछन् । डिसेम्बर २३ अर्थात पुस ९ गतेको डेटलाइनदेखि केही दिनअघि टिकट विक्री बन्द हुने अधिकारीले बताए । चारघन्टा चल्ने कार्यक्रम नेपाली समयअनुसार राती दुईबजेसम्म निरन्तर हुनेछ । नेपाली मात्र होइन, छिमेकी देशका डायस्पोरा समेत सहभागि हुने कन्सेप्ट भिजनका सुवाससिंह ठकुरी ‘अनिस’ले बताए । कतारबाट समेत नेपालीहरु नजिकैको देशमा हुने अवार्डमा जाने मनस्थिती बनाइरहेका छन् ।

काठमाडौंमा भने, राष्ट्रिय नाचघरमा दर्जन कलाकारले नृत्य पूर्वाभ्यास गरिरहेका छन् । घरेलु सिनेमाका ‘हु इज हु’ले दुबईको अन्तराष्ट्रिय मंचमा आफ्नो प्रस्तुति पस्कने जमर्को गर्दैछन् । महानायक राजेश हमाल, छक्का पन्जा फिल्म टोली, पछिल्लो छिमलका तन्नेरी कलाकार नेफ्टा अवार्डमा सहभागि हुँदैछन् । ३१ विधामा हुने अवार्डका लागि ०७२ मा रिलिज भएका कूल ६७ फिल्मले भाग लिँदैछन् र उत्कृष्ट पाँच घोषित भैसकेको छ ।

यसपटकको अवार्ड किन पनि महत्वपूर्ण छ भने, अवार्डको केही महिनाअघि युएईमा नियमित घरेलु फिल्मको रिलिज सुरु भएको छ र छक्का पञ्जा चल्दैछ । नेफ्टा अध्यक्ष पुष्कर लामाले अन्तिम तयारीमा जुटिरहेको बताए । ‘नेफ्टा एकपछि अर्को ढंगले स्तरिय बन्दैछ र हामी प्रयत्नशिल छौं’ उनले भने, ‘दुबई क्वालिटी इभेन्टको एउटा उदाहरण हुनेछ ।’ यसका लागि नेफ्टाले स्पेक्ट्रम एडभरटाइजिङ, कन्सेप्ट भिजन र सेभेन स्टारसँग हातेमालो गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्