भाग्यमानी वर्षा : ९ महिनामा लगातार तीन फिल्म हिट



रंग खबर, काठमाडौँ । केही अपवादलाई छाड्ने हो भने नेपाली फिल्ममा नयाँ कलाकारलाई दर्शकमाझ ‘नोटिस्ड’ हुन निकै समय लाग्छ । तर, ‘नाइँ नभन्नु ल–४’बाट नेपाली फिल्ममा प्रवेश गरेकी अभिनेत्री वर्षा राउतको हकमा भने यो गलत सावित भएको छ । उनको यतिवेला फिल्मवृत्तमा चौतर्फी चर्चा छ । नहोस् पनि कसरी ? उनको तीन फिल्म लगातार हिट भएका छन् ।
barsha rautगत बर्षको अन्त्यमा प्रदर्शनमा आएको उनी अभिनित फिल्म ‘नाइँ नभन्नु ल ४’ व्यापारिक रुपमा सफल भयो । यसवर्ष मात्र उनका दुई फिल्म ‘६क्का पन्जा’ र ‘जात्रा’ले सफलताको स्वाद चाखे । तर, तीनटै फिल्ममा वर्षा सोलो हिरोइनको भुमिकामा भने छैनन् ।

‘नाइँ नभन्नु ल’ आफैमा पनि ब्रान्ड बनिसकेको फिल्म भएकाले ‘नाइँ नभन्नु ल–४’ हिट हुनलाई वर्षानै चाहिनुपर्ने भने थिएन । त्यहीपनि रिलिज भइसकेपछि फिल्ममा वर्षाले गरेको कामको तारिफ नै भयो । त्यस्तै भदौमा दिपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पन्जा’ प्रर्दशनमा आयो । जुन फिल्म वर्षाको करिअरकै ‘टर्निङ पोइन्ट’ भएको उनी निकटकाहरु बताउँछन् । कमेजा जान्रको यो फिल्म व्यापारिक रुपमा निकै हिट भयो । यद्यपी यो फिल्म उनका कारण भन्दा पनि सानो पर्दाका चर्चित हास्य कलाकारहरुका कारण बढी चर्चामा थियो ।

यतिवेलासम्म हलमा उत्साहजनक व्यापार गरिरहेको फिल्म ‘जात्रा’मा पनि वर्षा प्रमुख भुमिकामा छिन् । फिल्ममा उनी एक बच्चाकी आमाको भूमिकामा प्रस्तुत भएकी छिन् ।

वर्षाका तीन फिल्म लगातार हिट हुनुको कारण ‘ठुला र राम्रा ब्यानरसँग काम गर्नाले हो’ भन्ने चर्चा पनि फिल्म जगत्मा सुनिन थालिएको छ । उनलाई ‘भाग्यमानी हिरोइन’ भन्नेहरु बढेका छन् । यस्तो सुन्दा वर्षाको मनमा पनि लागेको होला– ‘अब भाग्य होइन, फिल्म मेरा कारणले चलोस् ।’

प्रतिक्रिया दिनुहोस्