रंग खबर, काठमाडौँ | नेपाली फिल्ममा एतिहासिक सफलता हाँसिल गरेको फिल्म ‘छक्का पन्जा’ले प्रदर्शनको १०० दिन पुरा गरेको उपलक्ष्यमा सक्सेस पार्टी तथा बनभोजको कार्यक्रम समापन गरेको छ ।
करिब १६ करोड नजिकको ग्रस कलेक्सन गरेको भनिएको फिल्मले बुधबार भैंसेपाटिस्थित फिल्मकर्मीलाई बोनस, मायाको चिनो र सम्मान पत्र बाड्दै बनभोजको आयोजना गर्यो ।
बनभोज तथा सक्सेस पार्टीमा पत्रकार, कलाकार, वितरक, हलवाला र प्राबिधिकको बाक्लो उपस्थिति रह्यो । कमेडी कलाकारले बनाएको फिल्मको बनभोजमा कमेडी कलाकारकोनै बाहुल्यता देखियो ।
जहाँ कमेडी कलाकारसंगै अन्य उपस्थित फिल्मकर्मीले रमाइलो गर्दै मायाको चिनो, सम्मान र बोनस थापे । कार्यक्रममा उपस्थित सबैले ‘छक्का पन्जा’ टिमलाई बधाई दिएका थिए ।
कार्यक्रममा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य,दिपाश्री निरौला, दिपकराज गिरि, सीताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली), जितु नेपाल (मुन्द्रे), केदार घिमिरे ‘माग्ने बुढा’, बसुन्धरा भुसाल, आर्यन सिग्देल, दिलिप राइमाझी, वर्षा राउत, पुजा शर्मा, करण केसी ‘राता मकैं’, राजनराज सिवाकोटी, दिपक शर्मा, कविराज गहतराज, राजाराम पौडेल लगाएतका थुप्रै कलाकारको उपस्थिति थियो ।
पार्टीमा प्रियंका कार्की, नम्रता सापकोटा र शिवहरि पौडेल उपस्थित थिएनन् । दिपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पन्जा ‘ गत भदौ २४ मा प्रदर्शनमा आएको थियो । र, अहिलेसम्म केहि हलमा प्रदर्शनरत छ ।