शरणार्थीमाथि बनेका दुई फिल्म एकैदिन रिलिज हुने



रंगखबर, काठमाडौं । भुटानबाट लखेटिएर पूर्वी नेपालको झापामा शिविर बनाई बसेका भुटानी शरणार्थीको कथामा आधारित रहेर निर्माण गरिएका दुई फिल्म एकै मिति अर्थात भदौ ८ गते प्रदर्शनमा आउने भएका छन् । प्रकाश आङदेम्बेले निर्देशन गरेको फिल्म ‘देश खोज्दै जाँदा’ र विजय केरुङले निर्देशन गरेको फिल्म ‘हामी शरणार्थी’ एकै मितिमा रिलिज हुन लागेका हुन् ।

दुवै फिल्मले राजधानीमा सोमबार छुट्टाछुट्टै समयमा पत्रकार सम्मेलन गर्दै रिलिजको तयारीबारे जानकारी दिए । ‘देश खोज्दै जाँदा’का निर्देशक आङदेम्बेले फिल्ममा भुटानी शरणार्थीहरुको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा बाह्य द्वन्द्वलाई मार्मिक र संवेदनशीलताका साथ उजागर गरिएको बताए ।

फिल्मका प्रमुख कलाकार बाबु बोगटीले राम्रो कथाको फिल्ममा काम गर्न पाउँदा खुसी लागेको बताए । ‘शरणार्थीको बारेमा सुन्दै आएको थिएँ तर फिल्ममा आफैँ शरणार्थीको भूमिकामा अभिनय गर्दा उनीहरुको दिनचर्यालाई नजिकबाट नियाल्ने मौका पाएँ,’ बाबुले भने, ‘मिहिनेत गरेअनुसार दर्शकले फल दिनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’

अभिनेत्री अरुणा कार्कीले शरणार्थीका बारेमा जति सुने पनि उनीहरुको ठाउँमा पुगेर हेरेपछि मात्र वास्तविकता थाहा पाएको बताइन् ।
यता फिल्म ‘हामी शरणार्थी’को पनि यस्तै कथानक रहेको छ । निर्देशन विजय केरुङले गरेका छन् । फिल्मको पोस्टरमा दुई बच्चा बोकेर डराएको लुक्समा देखिएकी अभिनेत्री शिल्पा पोखरेल अर्कै फिल्मको सुटिङमा व्यस्त भएपछि पत्रकार सम्मेलनमा देखिइनन् । अभिनेता जीवन भट्टराईले आफ्नो भूमिकालाई दर्शकले मन पराउने दाबी गरे ।

कृष्णप्रसाद पोखरेल, अर्जुन पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीको लगानी रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा तथा संवाद र सौरभ लामाको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्