होला त ‘ऐश्वय’ रमेश उप्रेतीको ‘दमदार कमब्याक’ ? (हेर्नुस् ट्रेलर)



अभिनेता रमेश उप्रेती करिब सातवर्षको अमेरिका बसाईपछि फिल्म ‘ब्रासलेट’बाट नेपाली फिल्ममा फर्किए। त्यसपछि आफ्नै निर्माणमा दोश्रो फिल्म ‘ऐश्वर्य’ बनाएका छन्।
यो फिल्मलाई उनी आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भनिरहेका छन्। यति मात्र नभएर ‘दमदार कमब्याक’का हिसाबले ‘ऐश्वर्य’नै आफ्नो कमब्याक फिल्म भएको बताइरहेका छन्। बिहिबार राजधानीमा एक कार्यक्रमविच फिल्मको अफिसियल ट्रेलर रिलिज भयो । फिल्मको ट्रेलरले रमेशको ‘दमदार कमब्याक’को छनक देखाएको छ। युट्युबमा पनि ट्रेलरको राम्रो प्रतिक्रिया मिलिरहेको छ।

यो फिल्ममा ऐश्वर्य प्राप्तिका लागि गरिने संघर्षको कथा छ। लभ स्टोरी जान्रामा आधारित यस फिल्ममा सुख सम्पति प्राप्तिको पछी लाग्दा निम्तिने अवस्थालाई देखाइएको फिल्मका निर्देशक दिवाकर भट्टराईंले बताए।

यो फिल्मबाट निर्मातासमेत बनेका अभिनेता उप्रेतीले फिल्म राम्रो बनाउन कुनै सम्झौता नगरेको बताए। ‘नेपाली फिल्मलाई नेपाली आँखाले नै हेर्नु भयो भने यसमा स्तरीयतासँगै तपाइँ हामीले देखेकै कथा पाउनु हुनेछ,’ उनले भने,‘हामीले सामाजिक कथालाई फिल्मी शैलीमा प्रस्तुत गरेका छौ । खासमा भन्नुपर्दा मैले देखेको सपना हो यो ऐश्वर्य । एउटा स्तरीय फिल्म बनाउने मेरो पहिल्यैदेखिको चाहना हो।’

यो फिल्मबाट मोडल दीपिका प्रसाईं अभिनेत्रीका रुपमा डेब्यु भएकी छिन्। उनी रमेशको अपोजिटमा देखिनेछिन्। ‘सुरुमा त मलाई फिल्म गर्ने सोच नै थिएन तर फिल्मको कथावस्तु मन परेरै फिल्म गरेकी हुँ,’ ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भनिन्, ‘म फिल्ममा मोडलिङ नै गरिरहेको देखिनेछु । मेरो पहिलो फिल्म भएकाले दर्शकले नहेर्दासम्म धेरै बोल्न त मिल्दैन तर सक्दो राम्रो गर्ने कोशिस गरेकी छु।’

ट्रेलर सार्वजनिक भएपछि भिलेनको भुमिकामा देखिएका प्रशान्त ताम्राकारको प्रशंसा भएको थियो। ट्रेलरमा उनको बलियो प्रस्तुति महसुस गर्न सकिन्छ। ‘फिल्मभित्र मलाई बिजनेसम्यानको भूमिकामा देख्न पाउनुहुनेछ,’ उनले भने,‘यो फिल्मका लागि मैले पात्र अनुसार तौल पनि घटाएको थिए र आज पर्दामा आफैलाई हेर्दा मलाई त्यो मेहनत खेर नगएको महसुस भयो।’

फिल्ममा अभिनेत्री केकी अधिकारीको पनि अभिनय छ। तर उनी ट्रेलर लन्चमा सहभागी थिइनन्। उनी यो फिल्मको प्रमोसनमा पनि देखिएकी छैनन्। फिल्ममा अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेन्जु योन्जन लगायत कलाकारको समेत अभिनय छ। निर्देशक भट्टराईकै लेखन रहेको फिल्म छठ पर्वको अवसरमा आउदो कार्तिक ९ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउँदैछ।

हेर्नुस् ट्रेलर

प्रतिक्रिया दिनुहोस्