महिला मैत्री शौचालय बनाउन धरमपुरमा सांगीतिक साँझ



रंगखबर, धरमपुुर (झापा) । बडादशैंको अवसर पारेर धरमपुर साहित्य प्रतिष्ठानले महिला मैत्री शौचालय र ग्रिन पार्क निर्माणार्थ हालै सांगीतिक साँझ सम्पन्न गरेको छ।

कार्यक्रममा गायकहरु भुवन सुप्तिहाङ राई, बादल लिम्बु, गौरीमान चाम्लिङ र तुुलसी शिवाकोटीले गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

झापाको शिवसतासी–१ धरमपुरस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा स्थानिय कलाकारहरु विजय दंगाल, सध्या नेम्बाङ, सिकेपी मेसी पौडेल, कविता चाम्लिङ राई र दीपक तामाङले पनि आ–आफ्नो प्रतिभा प्रस्तुत गरेको धरमपुर साहित्य प्रतिष्ठानका अध्यक्ष विराट किरातीले जानकारी दिए ।
धरमपुर विकास अन्तराष्ट्रिय महासंघको सहकार्य रहेको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि बनेर आएका शिवसतासी नगरपालिकाको मेयर चन्द्रकुमार शेर्माले नगरको विकास, परिवर्तन र समृद्धिको निम्ति कला, साहित्य र संगीतको भूमिका पनि महत्वपूर्ण रहने भन्दै शौचालय निर्माणको अभियानको प्रशंसा गरे । आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए ।

कार्यक्रममा चौतारी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भद्रदुमी राई, झापाली युवा सरोकार समाजका अध्यक्ष कविराज चाम्लिङ, गजलकारहरु विबश बलिभद्र कोइराला, दिलिप घिमिरे लगायत सहभागी थिए । कार्यक्रममा पत्रकार अनिलदेव राईंलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्