विर्तामोड र धरान तताए सुनील र अलिशाले



रंगखबर, काठमाडौँ- यहि साउन ११ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘चिँ मुसी चिँ’ले देशव्यापी प्रमोसन सुरु गरेको छ । प्रमोसनको पहिलो दिन पुर्वको रमणीय स्थल विर्तामोड र धरानमा निर्माण टिमले कन्सर्ट गरेको थियो । हजारौ दर्शकहरुको उपस्थितिमा चलचित्रका नायक सुनिल क्षेत्रि र नायिका अलिशा शर्माले स्टेज राम्रै तताएका थिए । कन्सर्टमा नेपाल आइडलकी टप ५ प्रतिष्पर्धी सुजाता पाण्डेले पनि दर्शकहरुलाई उत्तिकै नचाउन सफल भएकी थिईन । ‘चिँ मुसी चिँ’का चारवटा डान्सिङ्ग गीतमा सुनिल, अलिशा र सुसान्त कार्कीले दमदार नृत्य प्रस्तुत गरेका थिए भने गायिका पाण्डेले चलचित्रको शिर्ष गीत गाएकी थिइन् ।

विर्तामोड, धरानसँगै हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली हुदै काठमाण्डौ सम्म प्रमोशनल कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले जानकारी दिएका छन । चलचित्रमा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङको लगानी रहेको छ भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की चलचित्रका प्रस्तुतकर्ता हुन। बासु न्यौपानेले खिचेको चलचित्रलाई  भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

चलचित्रमा सुनिल र अलिशाका अलावा शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्