पुरानो बुलेटको छायांकन अन्तिम अवस्थामा



रंगखबर, काठमाडौँ- क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको चलचित्र ‘पुरानो बुलेट’को छायांकन ८५ प्रतिशत सकिएको निर्माण पक्षले जनाएको छ ।असार १६ देखि छायांकन सुरु भएको यस चलचित्र काठमाडौं र पूर्वी मोरङको लेटाङ, पथरीशनिश्चरे, बेतना, झापाको दोमुखा, धनकुटाको नाम्जे लगायतको स्थानमा ८५ प्रतिशत छायांकन गरी पुनः सुटिङ युनिट काठमाडौं आइपुगेको छ । अब बाँकी १५ प्रतिशत काठमाडौंमा छायांकन गरिने निर्माता मध्येका विरेन साम्बाले जानकारी दिए ।

चलचित्रमा अहिले जल्दाबल्दा नायक अनुपविक्रम शाही प्रमुख भूमिकामा छन् । शाहीलाई नायिकाद्वय वर्षा सिवाकोटी र माला लिम्बुले साथ दिएका छन् । पत्रकार भीषण राईकोे डेब्यु निर्देशन रहेको  चलचित्रको कथा पत्रकारद्वय सन्तोष राई र निर्देशक भीषण राईले लेखेका हुन् ।

यस्तै चलचित्रमा अन्य कलाकारहरु कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठ लगायतले पनि अभिनय गरेका छन् । फिल्मलाई दिपेन्द्र लिम्बु, वीरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ राईले निर्माण गरिरहेका  छन् ।

हरि घले लामाले खिचिरहेको ‘पुरानो बुलेट’को संगीतकार उत्तमजंग लिम्बु हुन् भने गायनमा ‘ राजेशपायल राई,  उत्तमजंग लिम्बु र मेलिना राई, यस्तै जयन जे. वाइबाको स्वर सुन्न सकिनेछ । चलचित्र मंसिर महिनामा प्रदर्शन ल्याउने क्रेजी इन्टरटेनमेन्टले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्