सुदर्शनको ‘रामकहानी’ पोस्टरमा के छ नयाँ ?



रंगखबर , काठमाडौँ – सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’का तीन अफिसियल पोस्टर सार्वजनिक भएका छन् । लभस्टोरी फिल्मको निर्देशनमा अब्बल देखिएका थापाको यो प्रोजेक्टमा दर्शकले कमेडी स्वाद पाउनेछन् ।

यसअघि सार्वजनिक फिल्मको गीत र ट्रेलरमा कमेडी मल्टीस्टारलाई फोकस गरिएको थियो । त्यसको असर पोस्टरमा पनि देखिएको छ । यसपटक सुदर्शनको पोस्टरमा टाउके (बजार भ्यालु भएका अनुहार) हावी भएका छन् । कमेडीमा अत्याधिक रुचाइएका कलाकारको भिडमा ‘रामकहानी’ जोडी छन् । यसअघिका फिल्ममा भने प्रमुख कलाकार मात्र फोकस भएका हुन्थ्ये ।

 

डेब्यु निर्देशन ‘मेरो एउटा साथि छ’सँगै ‘मेरो लभस्टोरी’, ‘के यो माया हो’, ‘धन्दा’, ‘मधुमास’, ‘अझै पनि’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ फिल्मका पोस्टर लिड कलाकारमुखी थिए । त्यसताका तीनै कलाकारको भरमा फिल्मको बजार भ्यालु मापन हुन्थ्यो र त्यहिँ अनुसारको बक्स अफिस नजिता हात पर्थ्यो ।

तर, यसपटक चल्तीका कलाकारसँगै चल्तीको जानरामा थापाले फिल्म निर्माण गरेका छन् । यसबाट के अनुमान लगाउन सकिन्छ भने, निर्देशक थापा व्यावसायिक फिल्म निर्देशनमा आफुलाई ढाल्न खोज्दैछन् ।


अभिनेत्री पूजा शर्मासँगै निर्देशक थापाको पनि लगानीमा निर्मित फिल्ममा पुजाका अलावा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रविन्द्र झा, राजाराम पौडेल, शिशिर राना, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर र सोभित बस्नेतको अभिनय छ । यी मध्ये पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रविन्द्र झा, राजाराम पौडेल अहिलेका बजार भ्यालु भएका अनुहार हुन् ।

थापाकै कथा रहेको फिल्म सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो । भदौ २२ गते रिलिज हुने फिल्ममा अर्जुन पोखरेलको शब्द/संगीत, सौरभ लामाको छायाँकन, बनिष शाह/मिलन श्रेष्ठको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्