३० करोडको ‘पासवर्ड’मा सन्नी लियोनिको आइटम मात्र



रंगखबर, काठमाडौँ – एबी इन्टरनेसनलले फिल्म ‘पासवर्ड’को अफिसियल घोषणा गरेको छ । बेलायतमा ९८ र नेपालमा जम्मा २ प्रतिशत मात्र छायाँकन हुने फिल्मले  ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा पेश गर्ने बताइएको छ ।

सस्पेन्स, एक्सन र थ्रिलर जानरामा बन्ने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्नेछन् । यसघि ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनिले मुख्य निर्वाह गर्ने खबर बाहिरिएको थियो । तर, निर्माण पक्षले दिएको आधिकारिक जानकारी अनुसार फिल्ममा उनको एक आइटम नृत्य  र अतिथि भूमिका हुनेछ । जहाँ मुख्य भूमिकामा देखिन् लागेका विक्की जोशीसँग सन्नीले स्क्रिन शेयर गर्नेछिन् ।

विक्कीका अलावा फिल्ममा दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही (नेगेटिभ रोलमा), रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य भूमिकामा हुनेछन ।

आइतबारदेखि लण्डनमा फिल्मको फिल्मांकन हुँदैछ । त्यसका लागि नेपालबाट २० जनाको टोली त्यहाँ पुगिसकेको छ । २०१९ को जनवरीमा रिलिज लक्ष्य राखिएको फिल्मको निर्माण सम्पन्न हुँदासम्म ३० करोड रुपैयाँ खर्च हुने आँकलन गरिएको छ ।

अमित बस्नेत र हिरल जोशी निर्माता हुन् । सौरभ लामाको छायांकन हुने फिल्मलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्