बक्सअफिसमा औसत चर्चाका तीन फिल्म



रंगखबर, काठमाडौँ – नेपाली बक्स अफिसमा यो साता दुई नेपाली र एक बलिउड गरि तीन फिल्म प्रदर्शनमा आएका छन् । नेपाली ‘नाई नभन्नु ल ५’, ‘रेनी’ र बलिउडको ‘ह्याप्पी फिर भाग जाएगी’ यो साताका फ्रेस प्रतिस्प्रर्धी हुन् । चर्चा गरौ यी फिल्मबारे ।

नाई नभन्नु ल ५

विकासराज आचार्य निर्देशित फिल्म बालप्रेमकथामा निर्माण भएको छ । नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै सृंखला बनाएर रेकर्ड राखेको ‘नाई नभन्नु ल ५’ले सुस्ताएको बक्स अफिसमा केहि राहत भर्ने आशा गरिएको छ । तर, कमजोर प्रचार-प्रसारका विच रिलिज हुन् लागेकोले यस फिल्मप्रतिको आशामा तुषारापात पर्न पनि सक्छ ।

ट्रेलर र संगीत युट्युबमा हिट छन् । तर फिल्मको चर्चा मार्केटमा कम छ । त्यसैमा मल्टीप्लेक्समा बुधबारै खोलिएको बुकिङ पनि औसत भन्दा कम छ । नेपाली प्रतिस्प्रर्धी फिल्म कमजोर हुनु र कम चर्चाको विदेशी फिल्म रिलिज हुँदा ‘नाई नभन्नु ल ५’लाई सोलो रिलिजको जस्तै मौका मिलेको छ । मल्टीप्लेक्सको कमजोर बुकिङले फिल्मको सुरुवाती व्यापार आक्रामक हुने अनुमान गर्न गाह्रो छ ।

त्यैपनि फिल्मले सिंगलमा कस्तो व्यापार गर्ने हो ? त्यो पहिलो विकेन्डले बताउने छ । फिल्मका कलाकारको कुरा गर्दा यसपटक  चर्चित तर मार्केट भ्यालु कम भएका कलाकारको भिड छ । स्वस्तिमा खड्का, प्रियंका कार्की, अनुभव रेग्मी, दीलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी फिल्मका मुख्य हतियार हुन् । सेड्रीना शर्मा र अभिषेक नेपाल नयाँ अनुहार हुन् ।

रेनी

गिरिस रिजाल निर्देशित ‘रेनी’ प्रेमकथामा निर्माण भएको फिल्म हो । नयाँ कलाकारहरुले अभिनय गरेको फिल्मको चर्चा एकदमै कम छ । त्यसैले यो फिल्मले बक्स अफिसको खडेरी मेटाउने आशा गर्न सकिन्न । ट्रेलर र संगीत कमजोर बन्दा ‘रेनी’ पनि कमजोर बनेको अनुमान गर्न सकिन्छ ।

सरोज खनाल, दीपक ढकाल, सनम मल्ल, गिरिश रिजाल, सुरबीर पण्डित अभिनित फिल्म सिंगल पर्दामा रिलिज हुँदैछ ।

ह्याप्पी फिर भाग जाएगी

२०१६ मा रिलिज भएको ‘ह्यापी भाग जाएगी’को सिक्वेल नेपाल भित्रीएपनि यसले बक्स अफिसमा खासै असर पार्नेछैन । नेपालमा न्यून चर्चा बनाएको फिल्म मल्टीप्लेक्स लक्षित छ । तर, एडभान्स बुकिङमा फिल्मको प्रदर्शन फितलो छ ।

मुद्दतसर अजिज निर्देशित फिल्ममा डायना पेन्टी, सोनाक्षी सिन्हा, जिम्मी शेरगिल, अलि फजल, जस्सी गिललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्