सन्तोषलाई झट्का, हिट दिनलाई प्रदीपनै चाहिने हो त ?



रंगखबर, काठमाडौँ – निर्माता सन्तोष सेनले बक्सअफिसमा झट्का पाएका छन् । उनको निर्माणमा बनेको फिल्म ‘मेरी मामु’ बक्सअफिसमा चिप्लिएको छ । आफ्नै ७ वर्षीय छोरा आयुब सेनलाई मुख्य भूमिकामा लिएर बनाएको फिल्मले दोस्रो साताको यात्रा गर्न असफल देखिएको छ ।

सोलो रिलिजको मौका पाएको फिल्मले मिश्रीत प्रतिक्रिया बटुलेको थियो । बालमनोविज्ञानमा आधारित भनिएको फिल्म दोस्रो सातादेखि फाट्टफुट्ट हलमा यथावत रहनेछ । भने, मल्टीप्लेक्सका अधिकाँस पर्दाबाट फिल्म दोस्रो सातामा उतारिदै छ । कमजोर व्यापार गरेको फिल्मलाई दोस्रो सातामा ‘रामकहानी’, ‘रोज’ र हलिउड फिल्म ‘द नन’ले विस्तापित गर्दैछन् ।

कम बजेटमा निर्माण भएपनि ‘मेरी मामु’ले प्रचारमा राम्रै रकम खर्चिएको थियो । याम थापाले निर्देशन गरेको फिल्ममा आयुबसँगै सारुक ताम्राकार, अश्लेशा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्ल, भुवन चन्दलगायतका कलाकारले अभिनय गरेका थिए । बालकलाकारको रुपमा भित्रिएका आयुबले अभिनयबाट चर्चा कमाउनु बाहेक फिल्मका लागि चित्त बुझाउने बाटो अर्को रहेन ।

सन्तोषले हिट दिन प्रदीप नै चाहिने हो त ?

वर्तमान समयमा निर्माताको रुपमा राम्रा मानिने सन्तोषले ‘चंखे शंखे पंखे’बाट फिल्म व्यावसायमा हात हालेका थिए । सुदर्शन थापा निर्देशित फिल्मबाट सेनले राम्रै घाटा बेहोरे । त्यसपश्चातको ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ले चर्चा र पैसा दुवै दिलाए । बिग बजेटको ‘प्रेमगीत २’ हिट भएपछि सन्तोषले अभिनेता प्रदीप खड्कालाई ५० लाख भन्दा बढी पर्ने कार उपहार दिएका थिए ।

‘प्रेमगीत’ र ‘प्रेमगीत २’ प्रदीप खड्काले गर्दा हिट भएका थिए । सन्तोषले प्रदीपलाई लिएर ‘प्रेमगीतको तेस्रो सृंखला निर्माण गर्ने पनि हल्लाहरु बजारमा थिए । तर, प्रदीप अन्य व्यानरका फिल्ममा व्यस्त भएकाले सन्तोषले तेस्रो सृंखला निर्माण गर्न सकिरहेका छैनन् । प्रदीपसँगको साथ छुटेपछि सन्तोषको चर्चा र सफलताले पनि साथ छोडेको छ । के सन्तोषलाई हिट हुन् प्रदीपनै चाहिने हो त ?

प्रतिक्रिया दिनुहोस्