माघमा मनोज गजुरेलको ‘सयकडा दश’



भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ अब प्रदर्शनका लागि रेडी भएको छ । मनोज गजुरेल स्टारर सोसल ड्रामाले माघ १८ गतेलाई रिलिज मितिको रुपमा तय गरेको छ ।

शनिबार ललितपुर हात्तिवनमा आयोजित समारोहमा निर्माताले मिति घोषणा गरे । उक्त अवसरमा स्थानीय मानव सेवा आश्रमका दुई दर्जन वृद्धवृद्धा र अशक्तलाई भोजन र सरसफाइका सामाग्री प्रदान गरियो ।

‘फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ’ आफ्नो डेब्यु फिल्मबारे गजुरेलले भने, ‘बागमती सफाइ अभियन्ता र अध्यात्म क्षेत्रमा सक्रिय निर्मातासँगको सहकार्यले फिल्मलाई अझ जीवन्त तुल्याएको छ ।’

रंगमंच अभिनयले फिल्म करियरमा सजिलो भएको उनले उल्लेख गरे । ‘फिल्मको अन्तर्य प्रेम मात्र होइन, भ्रष्टाचारले प्रेमदेखि परिवारमा पार्ने प्रभाव समेत हो’ उनले बताए, ‘मलाई पहिले जति फिल्म अफर आए, ती सबै सूत्र शैलीमा थिए, सयकडा दश नितान्त भिन्न छ ।’

अभिनेता राजाराम पौडेलले सयकडा दशलाई आफ्नो फिल्मी करियरकै सर्वोत्कृष्ट फिल्मको रुपमा व्याख्या गरे । ‘मैले करियरमा जति फिल्म खेलेँ, तीमध्येको उत्कृष्ट हो’ उनी सुनिए, ‘फिल्म हेरिसकेपछि दर्शकले मनभित्र जतन गरेर राख्नेछन् ।’

रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्छ । पौडेल र गजुरेलसहित अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको फिल्मलाई पाठकले लेखेका हुन् ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् । निर्माताले च्यारिटीसहित सामाजिक कार्यमार्फत पनि फिल्मको प्रवद्र्धन गर्ने प्रचार संयोजक सुदीप पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्