‘तख्त’मा रणवीर-जान्ह्वी, विक्की-आलियाको जोडी !



रंगखबर, काठमाडौँ – धर्मा प्रोडक्सनबाट करण जोहरले यहिँ थुप्रै फिल्म निर्माणको घोषणा गरे । पछिल्लो वर्ष घोषणा भएको ‘सिम्बा’देखि भर्खरै घोषणा भएको ‘तख्त’सम्म सबै प्रतिक्षित फिल्मको लिस्टमा छन् ।

विशेष गरि करण जोहरको निर्माण रहने ७ फिल्म स्टारकास्टका कारण प्रतिक्षित छन् । ७ मध्ये ‘तख्त’मा करणको निर्देशन पनि रहनेछ । ‘सिम्बा’, ‘केसरी’, ‘स्टुडेन्ट अफ द ईयर २’, ‘ड्राइभ’, ‘ब्रह्मास्त्र’मा लगानी मात्र रहनेछ ।

करणको निर्देशन रहने भएकाले पनि ‘तख्त’ अन्य फिल्म भन्दा बढी चर्चामा छ । रोमान्टिक र पारिवारिक फिल्म निर्देशनमा आफुलाई निखारेका जोहरले यसपटक पिरियड ड्रामालाई प्रस्तुत गर्दैछन । फिल्मका स्टारकास्टको पनि घोषणा भैसकेको छ । जसअनुसार फिल्ममा अनिल कपूर, करीना कपूर खान, रणवीर सिंह, अलिया भट्ट, विक्की कौसल, जान्ह्वी कपूर र भुमि पेंडेकरलगायतले अभिनय गर्नेछन् ।

स्टारकास्टले गर्दा चर्चाको घेरामा रहेको फिल्ममा कसको जोडी कोसँग बाँधिन सक्छ भन्ने थुप्रै अड्कलबाजी काटिएका छन् । फिल्ममा मुगल शासक औरंगजेव र उनका भाई दारा शिकोहको नातालाई नजिकबाट उतारिने छ । र रणवीर दाराको भूमिकामा देखिँदा विक्कीले आफुलाई औरंगजेवको भूमिकामा ढाल्नुपर्नेछ ।

रणवीर-जान्ह्वी, विक्की-अलियाको जोडी

खबरका अनुसार फिल्ममा विक्की र आलियाले जोडी बाँध्ने छन् । यी दुईले २०१८ को सुपरहिट फिल्म ‘राजी’मा पति-पत्नीको भूमिका निर्वाह गरिसकेका छन् । उता रणवीर र जान्ह्वीले पहिलो पटक जोडीको रुपमा काम गर्नेछन् । रणवीरको ‘सिम्बा’मा पहिला जान्ह्वीलाई लिने हल्ला थियो । तर, विशेष कारणबस जान्ह्वी ‘सिम्बा’मा जोडिन पाइनन । पछि जान्ह्वीको ठाउँमा सैफअलि खानकी छोरी सारा अलि खानले मौका पाइन् ।

अहिले यो पनि अनुमान भैरहेको छ कि, ‘तख्त’मा जान्ह्वीले राजकुमारी नादिरा बानु बेगमको भूमिका निर्वाह गर्न सक्छिन । यदि जान्ह्वीले यो भूमिका निर्वाह गरिन भने उनको फिल्ममा उपस्थिति कम हुनेछ । किनकि, नदिराको मृत्यु आफ्नो पतिको भन्दा कयौँ वर्ष अगाडी भैसकेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्