महाशिवरात्रीमा अनमोलको ‘क्याप्टेन’, ९ दिनमा ५ विदाको अवसर



रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ रिलिज मितिको खबर बाहिरिएको छ । निर्माता भुवन केसीले एक अनलाइन पोर्टलमा फिल्मको आधिकारिक रिलिज मितिबारे बोलेका छन् । अब फिल्म फागुन १७ मा रिलिज हुनेछ ।

बजारमा फिल्म तिहारमा रिलिज हुने हल्लाहरु सुनिएपनि, उक्त समयसम्म फिल्मको काम नसकिने भएकाले रिलिजको लागि असमर्थ रहेको केसीले बताए । भिएफएक्सको कामले अगाडी नै रिलिज गर्न नसकिएको र फागुन १७ लाई फाइनल मिति तोकिएको केसीले बताएका छन् ।

फागुन १७ गते रिलिज हुँदा ‘क्याप्टेन’ले पहिलो सातामा एक शनिबार, महाशिवरात्री र ग्याप्लो ल्होसारको विदा खानेछ । त्यस्तै दोस्रो शुक्रबार नारी दिवसको सार्वजनिक विदा छ । यसरी, फिल्मले विहिबार परेको ग्याप्लो ल्होसारको विदासँगै लगातार दोस्रो शनिबारसम्म ३ दिनको विदा खानेछ ।

दिवाकर भट्टराई निर्देशित फिल्ममा अनमोल फुटबल खेलाडीको भूमिकामा प्रस्तुत हुँदैछन् । अनमोलसँगै फिल्ममा उपासना सिंह ठकुरी र प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्