‘जय भोले’को अग्रिम बुकिङ, ‘छक्का पन्जा ३’सँग कडा टक्कर



रंगखबर, काठमाडौँ – फूलपातीको अवसरमा भोलि मंगलबारबाट प्रदर्शनमा आउँन लागेको फिल्म ‘जय भोले’को लागि अग्रिम बुकिङ खुलाइएको छ । आइतबार खोलिएको बुकिङमा ‘जय भोले’ले उल्लेख्य शोज पाएको छ ।

गत बुधबार प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ३’को दबदबाको वावजुत ‘जय भोले’ले शोज संख्यामा आफुलाई पावरफुल देखाएको छ । दशैँको छेकोमा रिलिज भएका दुवै फिल्म बलिउड र हलिउड माथि हावी देखिएका छन् । यो पक्कै पनि नेपाली बक्स अफिसका लागि सुखद क्षण हो ।

जय भोलेलाई मल्टीप्लेक्समा कति शोज ?

ठुलो मल्टीप्लेक्स क्युएफएक्सले, आफ्ना ८ वटा प्लेक्समा ‘जय भोले’लाई सुरुवाती ४० शोज दिएको छ । ‘छक्का पन्जा ३’ले यति हलमा ५५ शोज पाएको थियो । यो वर्ष रिलिज भएका फिल्म मध्ये ‘जय भोले’ले क्युएफएक्स चेनमा पाएको शोज, सर्वाधिक दोस्रो हो ।

‘जय भोले’को प्रदर्शनले ‘छक्का पन्जा ३’को शोजमा भारी गिरावट आएको छ । ५५ शोजबाट ६ दिनमै ‘छक्का पन्जा ३’ २८ शोजमा सिमित भएको छ ।

त्यस्तै चाबहिलको एफक्युबले ‘जय भोले’लाई ७ शोज दिएको छ । यहाँ ‘छक्का पन्जा ३’ सुरुवाती शोज ११ थियो । ‘जय भोले’का वावजुत ‘छक्का पन्जा ३’ले दोस्रो सातामा ८ शोज पाएको छ । एफक्युबमा दुवै फिल्मले हलिउडलाई विस्तापित गर्दै आफ्नो ठाउँ फराकिलो बनाएका छन् ।

बिग मुभिजले ‘जय भोले’लाई ८ शोज दिँदा, ‘छक्का पन्जा ३’को पहिलो साताको शोजमा ३० प्रतिशत गिरावट आएको छ । सुरुवाती १० शोज पाएको ‘छक्का पन्जा ३’ सोमबारसम्म १२ शोजमा पुगेको छ ।

गोंगबुस्थित बिएसआर मुभिजले ६, दरबारमार्गको राइजिङ मलले ६ र सिडीसीले ६ शोज ‘जय भोले’को पक्षमा पारिदिएका छन् । यी हलमा पहिलो दिन दोब्बर शोजमा प्रदर्शन भएको ‘छक्का पन्जा ३’ शोजमा ५० प्रतिशत कटौती भएको छ ।

अशोक शर्मा निर्देशित फिल्मले मल्टीप्लेक्समा देशभर ७३ शोज पाएको छ । ‘छक्का पन्जा ३’को भन्दा यो ३६ शोज कम हो ।

मल्टीस्टारर ‘जय भोले’मा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, बुद्दि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामालगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्