नेपाली बक्सअफिसकी लिडर निर्देशक



रंगखबर, काठमाडौँ – निर्देशक दीपाश्री निरौला नेपाली बक्सअफिसकी सर्वाधिक प्रभावशाली निर्देशकमा दरिएकी छन् । प्रदर्शनरत ‘छक्का पन्जा’को तेस्रो सृंखला ब्लकबस्टर भएसँगै दीपाश्रीले ब्लकबस्टरको रेसमा ह्याट्रिक पनि मारेकी छन् ।

‘छक्का पन्जा ३’को लाइफटाइम कलेक्सन पुरा हुँदासम्म दीपाश्री, नेपाली बक्सअफिसकी एक मात्र लिडर निर्देशक बन्नेछिन् । हलिउड निर्देशक जेम्स क्यामरून विगत २१ वर्षदेखि विश्वव्यापी बक्सअफिसको लिड गरिरहेका छन् । सन् १९९७ मा यी निर्देशकको ‘टाइटानिक’ले विश्वव्यापी सर्वाधिक कलेक्सन गर्यो । जुन रेकर्ड अन्य निर्देशकका फिल्मले तोड्न सकेका छैनन् । ‘टाइटानिक’ रिलिज भएको १२ वर्ष पछि क्यामरूनकै फिल्म ‘अवतार’ले उक्त रेकर्डलाई उछिन्यो ।

‘अवतार’ले सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड राखेको पनि करिब ९ वर्ष पुगिसकेको छ । ‘अवतार’को रेकर्ड तोड्नु त परे जाओस, ‘टाइटानिक’को रेकर्ड तोड्न हम्मे परिरहेको छ अन्य फिल्मलाई ।

यस्तै अवस्था छ, नेपाली बक्सअफिसमा पनि । तीन वर्ष अगाडी एतिहाँसिक व्यापार गरेको ‘छक्का पन्जा’को रेकर्ड अन्य फिल्मले तोड्न सकिरहेका छैनन् । दीपाश्री कै दोस्रो प्रस्तुति ‘छक्का पन्जा २’को सुरुवाती व्यापारलाई हेर्दा ‘छक्का पन्जा’को रेकर्ड तोडिने अनुमान गरिएको थियो । तर, रेकर्ड राख्न जति सजिलो हुन्छ । रेकर्ड तोड्न त्यतिकै गाह्रो ।

रेकर्ड तोड्न नसकेपनि ‘छक्का पन्जा २’ले नेपाली बक्सअफिसमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड राख्यो । वितरक र निर्माण पक्षले बताए अनुसार ‘छक्का पन्जा’को १६ करोड ग्रस र ‘छक्का पन्जा २’को साढे १४ करोड कलेक्सन रेकर्डमा छ ।

अब यी दुई कलेक्सनलाई उछिन्ने छनक तेस्रो सृंखलाले देखाएको छ । प्रदर्शनको १२ दिनमा १२ करोड कलेक्सनको रिपोर्ट आइरहँदा अघिल्ला दुई सृंखलाका रेकर्ड धरापमा देखिन्छन ।

नेपाली बक्सअफिसमा दीपाश्रीको लडाई, अब आफ्नै फिल्मसँग सुरु भएको छ । अन्य फिल्म त यो सृंखलाको नजिक पनि पुग्न सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्