पाँच शहरमा नाचेर सार्वजनिक भयो ‘बुलबुल’को गीत



रंगखबर, काठमाडौँ – नयाँ प्रचार तरिकाका साथ फिल्म ‘बुलबुल’को पहिलो गीत सार्वजनिक गरिएको छ । विहिबार दिउँसो ४ बजे चिप्लेढुंगा चोक (पोखरा), ट्राफिक चोक (बुटवल), नारायणी किनार (नारायणगढ) र हनुमान कम्प्लेक्स (बिर्तामोड)मा स्वयमसेवी डान्सरले फिल्मको गीतमा नृत्य पस्किदै गीत सार्वजनिक गरे ।

त्यस्तै राजधानीस्थित काठमाडौँ मलको अगाडी मुख्य कलाकार स्वस्तिमा खड्का र मुकुन भुसालले कम्मर मर्काए । उनिहरुलाई ४० जना कोरसले साथ दिएका थिए । पाँच शहरको नृत्य पश्चात फिल्मको गीत युट्युबमा पनि सार्वजनिक गरिएको छ । यस भिन्न प्रकारको प्रचार तरिकालाई निर्माण पक्षले ‘फ्ल्यास मोब’ शैली बताएको छ ।

सार्वजनिक ‘खुद्राखुद्री’ बोलमा कोशिश क्षेत्रीको शब्द/संगीत, निश्चल बस्नेत र रजिना रिमालको स्वर छ । विनोद पौडेल निर्देशित फिल्ममा स्वस्तिमाको शिर्ष भूमिका छ । उनि फिल्ममा टेम्पो चालकको भूमिकामा छिन् ।

फागुन ३ रिलिज मिति तय भएको ‘बुलबुल’मा मुकुन भुसाल, बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्