दीपक-दीपा ज्यु सम्मान दिएको हो कि, प्रसाद बाँडेको ?



रंगखबर, काठमाडौँ – मंगलबार राजधानीको एक पार्टी प्यालेसमा फिल्म ‘छक्का पन्जा ३’ले ५१ दिने प्रदर्शनको खुसियाली साट्दै भव्य पार्टी आयोजना गर्यो । पार्टीमा फिल्म क्षेत्रका व्यक्तित्व र कला पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

दीपक-दीपा क्याम्पबाट बन्ने फिल्मले पछिल्लो समय बक्सअफिसमा थुप्रै रेकर्ड राख्दै आइरहेका छन् । ‘छक्का पन्जा ३’ले ५१ दिने प्रदर्शनको यात्रामा १७ करोड माथि ग्रस कलेक्सन गरेको निर्माण पक्षको दावी छ । निर्देशक दीपाश्री निरौलाले आफ्ना फिल्म सफल हुनुमा आफ्नो बलियो टिम, दर्शक र पत्रकारलाई सम्झिन्छिन ।

पार्टीमा फिल्मका प्राविधिकलाई बोनस बाड्दै, कलाकार, हल व्यवसायी, प्राविधिक र वितरकलाई सम्मान पत्र र ट्रफी प्रदान गरियो । जहाँ मिडियाको लागि भन्दै सम्मान पत्र छुट्याईएको थियो ।

तर, मिडियाको लागि सम्मानपत्र छुट्याईए पनि वितरण भने अनौठो तरिकाले गरियो । जहाँ कलाकार, हल व्यवसायी, प्राविधिक र वितरकलाई सम्मान ग्रहण गर्न स्टेज चढाइयो । त्यहाँ मिडियालाई भने दोस्रो कोठामा नाम र संचारमाध्यमको नाम सोध्दै सम्मानपत्र बाँडियो । त्यो पनि फ्रेमबिनाको । कतिले त सम्मान पत्र लिएर निर्देशक निरौलासँग स्टेजमा पुगेर सम्मान लिदै गरेको फोटो लिन भ्याए ।

धेरै जस्तो संचारकर्मीहरु सम्मानपत्र नलिएरै समारोहबाट बाहिरिए । एक जना संचारकर्मी भन्दै थिए ‘यो सम्मान हो की, प्रसाद ?’

‘छक्का पन्जा’को १०० दिने सक्सेस समारोहमा संचारमाध्यमलाई फ्रेमसहितको सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै ‘छक्का पन्जा २’को ५१ दिने सक्सेस पार्टीमा प्राविधिक, कलाकार, हल व्यवसायी र वितरकलाई मात्र सम्मान र ट्रफी प्रदान गरियो । जहाँ मिडियाको लागि सम्मान थिएन ।

यसपटक जसरि सम्मानपत्र बाँडियो, त्यसप्रति संचारकर्मीले आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्