बक्सअफिसमा ४ फिल्म, नजर ‘सुश्री सम्पति’मा



रंगखबर, काठमाडौँ – नेपाली बक्सअफिसमा यो साता चार फिल्मले प्रतिस्पर्धा सुरु गरेका छन् । नेपाली ‘सुश्री सम्पति’, ‘कथा ७२’ र ‘डोली’सँगै हलिउडको ‘स्पाइडर म्यान – इन टु द स्पाइडर भर्स’ बक्सअफिसका फ्रेस फिल्म हुन् ।

यसका अलावा गत साता प्रदर्शनमा आएको ‘प्रसाद’ पनि बक्सअफिसको धेरै हिस्सामा छ । कुरा गरौँ फ्रेस रिलिजको बारेमा ।

सुश्री सम्पति

कलापत्रकार सुब्रतराज आचार्यले निर्देशन गरेको कमेडी ड्रामा देशभरका झन्डै ८० बढी हलमा प्रदर्शन भैरहेको छ । रिलिज अगाडीको औसत हाइपले गर्दा फिल्मको बक्सअफिस सन्तोषजनक हुन् सक्ने अनुमान छ । हिट गीत ‘हुकुम बक्सियोस’ र कलाकार सलोन बस्नेत, सारा सिर्पाइलि, विनोद न्यौपाने फिल्मका मेरुदण्ड हुन् ।

सिंगलदेखि मल्टीप्लेक्ससम्मका दर्शक टार्गेट फिल्मले अग्रिम बुकिङमा एभरेज शोज पाएको थियो ।

निर्देशक सुब्रतले नेपाली म्युजिक भिडियो निर्देशनमा आफुलाई प्रमाणित गरिसकेका छन् । ‘अर्धकट्टी’बाट फिल्म निर्देशनमा पाइला चालेका सुब्रत निर्देशित ‘मन मगन’ र ‘पिरिम नलाउने’ जस्ता म्युजिक भिडियो हिट छन् । सुब्रत निर्देशित भएकै कारण फिल्मले कस्तो व्यापार गर्नेछ, अहिले बजारमा चासोको विषय बनेको छ ।

स्पाइडर म्यान – इन टु द स्पाइडर भर्स

मार्भल स्टुडियोको एनिमेसन सुपरहिरो फिल्म नेपाली मल्टीप्लेक्समा मात्र रिलिज भएको छ । मल्टीप्लेक्सको शोज संख्या र एडभान्स बुकिङ सुखद छ । फिल्म घरेलु बक्सअफिससँगै नेपालमा पनि रिलिज भएको हो ।

९० मिलियन अमेरिकी डलरमा निर्मित फिल्मलाई बोब पर्सिचेट्टी, पिटर राम्सि र रोड्नी रोथ्मनले निर्देशन गरेका हुन् । फिल्ममा शमैक मुरे, जेक जोनसन, हैली स्टेंनफिल्डलगायतका कलाकार छन् ।

कथा ७२ र डोली

राजबहादुर साने निर्देशित ‘डोली’ सिंगल स्टेसन लक्षित फिल्म हो । यस सोसियल ड्रामामा पृथ्वीराज प्रशाई, अर्जुन गुरुङ, किशोर खतिवडालगायतका कलाकारको अभिनय छ । ‘डोली’ मल्टीप्लेक्सका केहि शोजमा पनि प्रदर्शनरत छ ।

त्यस्तै प्रविन स्याङ्ग्बो निर्देशित ड्रामामा आकाश मगर, सुप्रिया राना, भुइसल लामालगायतका कलाकारको अभिनय छ । फेस्टिभल लक्षित फिल्म मल्टीप्लेक्सका अत्याधिक न्यून शोजमा प्रदर्शनरत छ । यसै साता सम्पन्न ‘किम्फ फिल्म फेस्टिभल’मा समेत ‘कथा ७२’ प्रदर्शन  भएको थियो ।

प्रतिक्रिया दिनुहोस्