‘रहर छ सँगै’ शिर्ष स्थानमा, बलिउडको ‘आँख मारे’ रिप्लेस



रंगखबर, काठमाडौँ – नेपाल युट्युब ट्रेन्डिङको शिर्ष स्थान एक सातादेखि बलिउड गीत ‘आँख मारे’को कब्जामा थियो । निक्कै रुचाएको गीत ट्रेन्डिङबाट हट्ने छाँटकाँट नै देखिएको थिएन ।

अन्तत: विहिबार सार्वजनिक ‘क्याप्टेन’को गीतले ‘आँख मारे’लाई रिप्लेस गरिदिएको छ । अर्जुन पोखरेल संगीतवद्द ‘रहर छ सँगै’लाई युट्युब शिर्ष स्थानमा उक्लिन मात्र ८ घण्टा लाग्यो । ‘आँख मारे’ गीत अहिले दोस्रो नम्बरमा झरेको छ ।

यो समाचार तयार पर्दासम्म ‘रहर छ सँगै’लाई २२ घण्टा भित्र ५ लाख नजिक भ्युज मिलिसकेको छ । कुनै समय फिल्मका अत्याधिक गीतले शिर्ष स्थान चुम्ने गर्थ्ये । तर, पछिल्लो समय रिलिज भएका फिल्मी गीतलाई शिर्ष स्थानमा उक्लिन सकस परिरहेको थियो । ‘क्याप्टेन’ गीतले भने सजिलै त्यो सफलता हात पार्न सफल भयो ।

अनमोल केसी भएकै कारण गीतले युट्युब ट्रेन्डिङको शिर्ष स्थान चढ्न सफल भएको हो । अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएको रोमान्टिक नम्बरमा अनमोल र डेब्यु गर्ल उपासना सिंह ठकुरीको केमेस्ट्री सेट गरिएको छ । गीतमा दिग्गज धौरालीका शब्द छन् ।

दीवाकर भट्टराई निर्देशित फिल्ममा पहिलो पटक अनमोल फुटबल खेलाडीको भूमिकामा देखा पर्नेछन् । एक गाउँले फुटबल खेलाडीले राष्ट्रियस्तरको खेलाडी बन्न लागि परेको संघर्षको कथा ‘क्याप्टेन’ले भन्छ ।

भुवन केसी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता जिया केसी हुन् । फिल्ममा अनमोल र उपासनाका अलावा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन बिक्रम राई, राजाराम पौडेल, सुर्य मल्ल खनाल, बुद्दि तामाङ, अमित श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

फागुन १७ मा रिलिज हुने फिल्ममा दिर्घराज खड्काको सम्पादन, सुदिप बरालको डिओपी, अर्जुन पोखरेलको संगीत, नवराज उप्रेतीको छायाँकन र सामिप्यराज तिमिल्सिनाको कथा छ ।

प्रतिक्रिया दिनुहोस्