बक्सअफिस टक्करमा: ‘केजिएफ’ लगानी नजिक, ‘जिरो’लाई गाह्रो



रंगखबर, काठमाडौँ – भारतीय बक्सअफिसमा अहिले दुई ठुला फिल्मको प्रतिस्पर्धा चलिरहेको छ । शाहरुख खान स्टारर ‘जिरो’ र यस स्टारर ‘केजिएफ’ले एकअर्कालाई टक्कर दिइरहेका छन् ।

‘जिरो’ घरेलु बक्सअफिसमा अपेक्षाकृत चल्न सकेको छैन । मिश्रीत प्रतिक्रियाका वावजुत फिल्मको दुई दिने कमाइ ठिक-ठाक छ । पहिलो दिन २०.१४ करोडको ओपनिङ गरेको फिल्मले दोस्रो दिन १८.२२ करोड मात्र कमाउन सक्यो । पहिलो दिनको तुलनामा दोस्रो दिन ९.५३ प्रतिशतले व्यापारमा गिरावट आएको छ । फिल्मको बजेट २ सय करोड हो ।

दुई दिनमा फिल्मको टोटल कलेक्सन ३८.३६ करोड पुगेको छ । विदाको दिन आइतबार र क्रिसमस डेका दिन फिल्मले राम्रो व्यापार गर्ने अनुमान छ । भारी बजेटमा निर्माण भएको फिल्मले लगानी रिकभरका लागि कति सम्भावना राख्छ, पहिलो साताको कमाइले निर्धारण गर्नेछ ।

आनन्द एल राय निर्देशित फिल्ममा शाहरुखको अपोजिट कट्रिना कैफ र अनुष्का शर्मा छन् । फिल्ममा बलिउडका थुप्रै हेवी स्टारको केमियो भूमिका पनि छ ।

त्यस्तै कन्नडा फिल्म ‘केजिएफ’ले दुई दिनमा उत्साहजनक कलेक्सन गर्न सफल भएको छ । पहिलो दिन ‘जिरो’ भन्दा केहि तल देखिएको ‘केजिएफ’ दोस्रो दिन पहिलो स्थानमा उक्लेको छ ।

फिल्मले सबै भर्सनमा पहिलो दिन १७.९० करोड कमायो । यो यसको करिअरमा पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म समेत बन्यो । त्यस्तै दोस्रो दिनको कलेक्सनमा उछाल लगाउँदै १९.२५ करोडको कारोबार गर्न सफल भयो । ५० करोडको बजेटमा निर्मित फिल्मले दुई दिनमा ३७.१५ करोड कमाउन सफल भयो ।

मिश्रीत प्रतिक्रिया पाएको ‘केजिएफ’ले पहिलो विकेन्डमा लगानी रिकभर गर्नेछ । फिल्मलाई प्रशान्थ नीलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्