बक्सअफिस चम्किँदा, सेलायो खानडम । रणवीर बन्न सक्छन लिडर



रंगखबर, काठमाडौँ – बलिउडको घरेलु बक्सअफिस अघिल्लो वर्षको तुलनामा २०१८ प्रभावशाली देखिएको छ । यो वर्ष कन्टेन्टबेस फिल्मले बक्सअफिसमा धमाल मच्चाउँदा सलमान खान, आमिर खान र शाहरुख खानको स्टारडमले फेल खायो ।

तीनै खानका फिल्म बक्सअफिस, दर्शक र समिक्षकको नजरमा खरो उत्रन सकेनन् । समग्रमा भन्नु पर्दा ‘साल २०१८’मा स्टारडमका अगाडी कन्टेन्ट बलियो रह्यो ।

सयको हारहारीमा प्रदर्शन भएका बलिउड फिल्मले घरेलु बक्सअफिसबाट मात्र ३२ अर्व ४२ करोडको व्यापार गर्न सफल भए । रणवीर सिंहको ‘सिम्बा’ कलेक्सन यसमा जोडिएको छैन । यसले १ सय ५० करोड माथि कमाउन सके वार्षिकी कमाइ ३४ अर्व पुग्ने भारतीय मिडिया ‘कोइमोई डटकम’ले उल्लेख गरेको छ ।

गत वर्ष बलिउड फिल्मको वार्षिकी कमाइ २६ अर्व ८८ करोड भारु थियो । अघिल्लो वर्षको तुलना यो ५ अर्व ५४ करोड बढी हो ।

तीन खानका ३ फिल्म फ्लप

वर्षको मध्यतिर प्रदर्शनमा आएको सलमान खान स्टारर ‘रेस ३’ बक्सअफिसमा खरो उत्रन सकेन | १ सय ५० करोड बढी बजेटमा निर्मित फिल्मले १ सय ६९ करोड मात्र कमाउन सक्यो ।

फिल्मले सजिलै ३ सय करोड कमाउने आशा गरिएको थियो । उल्टो ‘वर्ड अफ माउथ’ले फिल्मको लाइफटाइम कलेक्सन लम्बिन सकेन । फलस्वरूप फिल्मलाई फ्लप लिस्टमा हाजिर गराइयो ।

करिब २ वर्ष पछि आमिर खानले फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ लिएर आए । बलिउडकै भारि बजेटमा निर्मित फिल्मले लगानी उठाउन ३ सय ५० करोड माथिको व्यापार गर्नु पर्थ्यो । तर, झुर फिल्मको संज्ञा पाउँदा लाइफटाइम कलेक्सन १ सय ४५ करोड मै रोकियो ।

फिल्मले पहिलो दिन ५० करोड माथि कमाइ गरेको थियो । तर, लाइफटाइमसम्म पुग्दा २ सय करोड घाटा बेहोर्नु पर्यो । यो आमिरको करिअरकै सर्वाधिक ‘डिजास्टर’ सावित भयो । फिल्मको बजेट नै ३ सय करोड माथि थियो ।

वर्षको दोस्रो अन्तिम सातामा प्रदर्शनमा आएको ‘जिरो’ बक्सअफिसको अर्को ‘डिजास्टर’ सावित भैसकेको छ । २ सय करोड बजेटमा निर्मित फिल्मले पहिलो साता ८९ करोड मात्र कमाउन सकेको छ ।

दोस्रो सातामा रणवीर सिंहको ‘सिम्बा’ले असर गर्दा ‘जिरो’लाई  सय करोड कमाउन पनि हम्मे पर्ने देखिएको छ । खस्किदै गएको शाहरुखको स्टारडमलाई ‘जिरो’ले अंझ दर्दनाक बनाइदिएको छ ।

रनबिर कपूर र रणवीर सिंहका लागि फलिफाप २०१८

यो वर्ष तीन खान असफल हुँदा बक्सअफिसमा रनबिर कपूर र रणवीर सिंह चम्किए । रनबिरको ‘सन्जु’ वर्षकै सर्वाधिक कमाउने फिल्म बनेको छ । उसले घरेलु बक्सअफिसमा मात्र ३ सय ४१ करोड कमायो । ८० करोड बजेटमा निर्मित फिल्मले निर्मातालाई सर्वाधिक मुनाफा पनि दियो ।

त्यस्तै रणवीर सिंहको ‘पद्मावत’ले पनि ३ सय करोडको आँकडा छुन सफल भयो । ‘पद्मावत’ यो वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म हो । २ सय ५० करोड बजेटमा निर्मित फिल्मले निर्मातालाई सेफ ल्याण्डिङ गराएको थियो ।

त्यस्तै रणवीरको ‘सिम्बा’ वर्षको अन्त्यमा प्रदर्शनमा आएको छ । यसले पनि बक्सअफिसमा डेढ सय करोड माथिको कमाइ गर्ने अनुमान गरिएको छ ।

यसो भएमा वर्षौदेखि तीन खानले लिडिङ गरिरहेको बक्सअफिसको शिर्ष स्थान रणवीरको नाममा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्