विक्कीको ‘उरी’ले १० दिनमै कमायो सय करोड



रंगखबर, काठमाडौँ – बलिउड फिल्म ‘उरी: द सर्जिकल स्टाइक’ले घरेलु बक्सअफिस अचम्मको व्यापार गरिरहेको छ । पहिलो दश दिनमा फिल्मले सय करोड क्लबमा इन्ट्री मार्दै टोटल कलेक्सन १०८.९ करोड पुर्याएको छ ।

दोस्रो सातामा फिल्मको कलेक्सनमा झन्डै ५० प्रतिशत गिरावट आउँछ । तर, ‘उरी’ ले दोस्रो सातामा पहिलो साताको भन्दा बढी कमाइ गर्न सफल भएको छ । पहिलो विकेन्डमा ३५.७३ करोड नेट कमाएको फिल्मले दोस्रो विकेन्डमा ३७.९६ करोड बटुलेको छ ।

बलिउडको मिडियम बजेट फिल्मको कमाइलाई आधार मान्दा यो कलेक्सनलाई ‘बक्सअफिसको आँधी’ मान्न सकिन्छ । गत वर्ष मिडियम बजेटका केहि कन्टेन्ट बेस फिल्मले अर्वौ कमाइ गरे । यसले पनि त्यहि ट्रेन्डलाई पच्छ्याएको छ । त्यो पनि आँधी सरि ।

कलेक्सनमा कमि नआए ‘उरी’ले सजिलै डेढ सय करोड माथिको कमाई गर्न सक्ने भारतीय मिडियाहरुले लेखेका छन् । आगामी साता रिलिज हुने कंगना रनाउतको ‘मणिकर्णिका’ले यसको रफ्तारमा गिरावट ल्याउने अनुमान गरिएको छ । ‘उरी’ ४२ करोडको बजेटमा निर्माण भएको हो । साथै, २०१९ को पहिलो सुपरहिट र सय करोड क्लबको फिल्म बनेको छ ।

आदित्य धर निर्देशित फिल्ममा विक्की कौशलले मुख्य भूमिका निर्वाह गरेका छन् । ‘उरी’ले विक्कीलाई चम्किला ताराको रुपमा उभ्याएको भारतीय मिडियाको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्