बक्सअफिसलाई माघ १८ को आशा



रंगखबर, काठमाडौँ – दशैँ पश्चात नेपाली फिल्मले बक्सअफिस गर्माउन सकेका छैनन् । दशैँ छेकोमा रिलिज भएका ‘छक्का पन्जा ३’ र ‘जय भोले’ले यो वर्षका पछिल्ला हिट फिल्म हुन् । त्यसपश्चात रिलिज भएका ‘चङ्गा चेट’ र ‘प्रसाद’ले केहि राम्रो व्यापार गरेपनि बाँकी फिल्म संख्यात्मक रुपमा मात्र सार्वजनिक भएका छन् ।

पुषदेखि तुसारोपात लागेको बक्सअफिस माघ १८ पछि गर्मिने आशा फिल्म नगरीले लिएको छ । यो मितिमा ठुला फिल्म ‘सयकडा दश’, ‘गोपी’ र ‘रणवीर’ रिलिज हुँदैछछन् । अंग्रेजी नयाँ वर्षको सुरुवातमा बलिउड फिल्मले बक्सअफिस तताउँदा नेपाली फिल्मको चर्चा न्यून छ । यसबीच यी तीन फिल्मले बक्सअफिस चलायमान राख्ने अनुमान छ ।

‘गोपी’ अर्ग्यानिक विषयबस्तुमा निर्माण भएर चर्चामा छ । दीपेन्द्र लामा निर्देशित फिल्मले गाइ पालक कृषकको कथा पर्दामा उतार्नेछ । विपिन कार्की शिर्ष भूमिका रहेको फिल्मले देशको वर्तमान परिस्थितिमा नयाँ आयाम ल्याउन सक्छ । पैसाको लागि विदेशिने युवा वर्गमा ‘गोपी’ले कस्तो छाप छोड्नेछ ? रिलिजको एक साता कुर्न जरुरि छ ।

‘गोपी’ले दिने संदेश सफल हुन् पहिले त यसले बक्सअफिसमा सकारात्मक नतिजा सुम्पिनु पर्छ । हलसम्म दर्शक तान्न सके मात्र ‘गोपी’को संदेश प्रवाह प्रभावकारी बन्नेछ । फिल्ममा वर्षा राउत र सुरक्षा पन्त पनि प्रमुख भूमिकामा छन् ।

त्यस्तै ‘प्रेमगीत २’ निर्देशक रामशरण पाठकले यसपटक ‘भ्रष्टाचारविरुद्द प्रेम’ भन्ने नाराका साथ ‘सयकडा दश’ ल्याएका छन् । यसले पनि वर्तमान अवस्थामा देशले भोगिरहेको समस्याको हल दर्शक माँझ प्रस्तुत गर्नेछ ।

फिल्ममा कमेडी स्टार मनोज गजुरेलले डेब्यु गरेका छन् । उनको कमेडीमा रमाउने जमात ‘सयकडा दश’ हेर्न हलसम्म पुग्लान ? फिल्मको हिट गीत ‘दाइलाई कुरा लाइदिने’ बोलले दर्शक तान्ला ? यी प्रश्नहरुको उत्तर रिलिजको एक साता भित्र पाइनेछ । ‘सयकडा दश’को नारा परिपूर्ति गर्नलाई बक्सअफिसको सकारात्मक नतिजा आवश्यक छ ।

फिल्ममा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेललगायतले मुख्य भूमिका निर्वाह गरेका छन् ।

साउथ इण्डियन फिल्म मन पराउने दर्शक नेपालमा थुप्रै छन् । हप्तै पिछे युट्युबको ट्रेन्डिङ नाप्ने साउथ इण्डियन फिल्मले यो कुराको पुष्टि गर्छन । त्यसैले ‘रणवीर’ले पनि सम्भावना बोकेको छ । जबर्जस्त संवादसहितको एक्सन ट्रेलरले साउथ इण्डियन फिल्मका दर्शकलाई हलसम्म तान्न सक्छ ।

गोविन्द सिंह भण्डारीको लेखन, निर्देशन रहेको फिल्मलाई स्तरीय बनाउन गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले राम्रै रकम खर्चिएका छन् । विषयपरक भन्दा मनोरन्जन खोज्ने दर्शकलाई ‘रणवीर’ले तान्न सक्छ । 

फिल्मको शिर्ष भूमिकामा सुशील पौडेल छन् । भने अपोजिटमा प्रशान्त ताम्राकार, सुबेक्षा खड्का र सुपुस्पा भट्टले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्