बैंकक प्रिमियरमा ‘सयकडा दश’ हेरेपछि आफ्नै पात्रदेखि रिसाए राजाराम



रंगखबर, काठमाडौँ – फिल्म ‘सयकडा दश’ थाइल्याण्डको राजधानी बैंककमा प्रिमियर भएको छ । माघ १८ गते घरेलु बक्सअफिसमा रिलिज हुने फिल्मलाई पहिलो शो हेर्न पुगेका बर्मा र थाइल्याण्ड नेपाली भाषी दर्शकले उत्कृष्ट भनेका छन् ।

थाइ संघद्वारा आयोजित प्रिमियरमा तीन सय बढी दर्शक उपस्थित भएको निर्माता एवं कलाकार राजाराम पौडेलले बताए । समारोहमा सहभागी हुन् उनि थाइल्याण्ड पुगेका थिए । 

बर्मेली अभिनेत्री सोनिया राईको समेत डेब्यु भएकाले फिल्मलाई उक्त थलोमा महत्वका साथ लिइएको थियो । प्रिमियरमा पौडेल र एक्ट्रेस राई आकर्षण बने ।

प्रिमियरपछि प्राप्त प्रतिक्रियाले निर्माता खुशि छन् । राजदूत गुरुङले सामाजिक कथावस्तुले भरिपूर्ण फिल्मलाई सरकारले बनाउनुपर्नेमा नीजि क्षेत्रबाट बनेकोमा धन्यवाद दिए । थाइ नेपाली संघका अध्यक्ष कार्कीले पुर्खाको देशको अवस्था फिल्ममा हेर्दा दुःख लागेपनि फिल्म हेरेर युवा कस्सिए नेपाल भ्रष्टाचारमुक्त हुने बताए ।

अभिनेता पौडेलले आफूले आफूलाई पर्दामा हेर्दा रिस उठेको बताए । ‘जुन भूमिका मैले गरेको छु त्यसले हाम्रा नेताहरुको अनुहार झल्काउँछ’ उनले भने, ‘यसले मप्रति नै रिस उठ्यो ।’ पौडेलले युवालाई फिल्म हेर्न आग्रह गरे ।

 रामशरण पाठक निर्देशित फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

‘सयकडा दश’ थाइल्यान्डका अन्य सहरमा समेत प्रदर्शन हुँदैछ भने म्यानमार प्रिमियर समेत आयोजना गरिएको छ । फिल्म निर्माताले यी तीन देशबीच संस्कृति, अर्थतन्त्र विस्तारमा फिल्मले भूमिका खेल्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्