‘तुलसी’ गीत: स्व. शिव रेग्मीको निर्देशनमा सुपरस्टारको सिग्नेचर ठुम्का



रंगखबर, काठमाडौँ –  करिब ८ वर्ष अगाडी निर्माण सम्पन्न भएर रिलिज हुन् नसकेको फिल्म ‘तुलसी’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

‘आजको रमाइलो बेला’ बोलको गीतमा सुपरस्टार कलाकार राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, तृप्ति नाडकर, मौसमी मल्ल र स्वर्गीय निर्देशक शिव रेग्मीलाई प्रस्तुत गरिएको छ । रेग्मी भिडियोमा निर्देशकको भूमिकामा छन् ।

मेलामा फिल्म छायाँकनको दृश्य कैद गरिएको गीतमा सुपरस्टारले आफ्नो सिग्नेचर गीतको संगीतमा कम्मर मर्काएका छन् । गोविन्द राईले कोरियोग्राफी भरेको गीतमा शिव/तृप्ति, राजेश/करिश्मा र भुवन/मौसमी/तृप्तिको जोडी बाँधिएको छ । फिल्मका मुख्य कलाकार ऋचा घिमिरे, बिमलेश अधिकारी र जयकिशन बस्नेत पनि भिडियोमा अटाएका छन् ।

रञ्‍जित गजमेर संगीतवद्द गीतमा साधना सरगम र कुमार कान्छाले स्वर दिएका छन् ।

शंकर घिमिरे निर्मित एवं निर्देशित फिल्म ‘तुलसी’लाई यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी भैरहेको मुख्य कलाकार बिमलेशले बताएका छन् । ‘सन् २०११ मा मेरो पहिलो फिल्म स्वरुप छायाँकन भएपनि विभिन्न कारणबस ‘तुलसी’ प्रदर्शनमा आउँन सकेको थिएन । अब निर्माण पक्षले छिट्टै नै रिलिज गर्ने निर्णयमा पुगेको छ ।’ बिमलेशले अमेरिकाबाट फिल्मको बारेमा जानकारी दिए ।

निर्देशक घिमिरे र अभिनेत्री घिमिरे अहिले अमेरिकामा छन् । फिल्म रिलिज गर्ने निर्णयमा पुगेपनि रिलिजको लागि निर्देशक र कलाकार नेपाल आउने टुंगो नभएको बिमलेशले बताए । रिलिजको हिसावले ढिला भएपनि ‘तुलसी’को कथाबस्तु पुरानो नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्