हलमा दर्शक नआउँदा फिल्मकर्मीको मजाक



रंगखबर, काठमाडौँ – दशैँमा रिलिज भएका ‘छक्का पन्जा ३’ र ‘जय भोले’ पश्चात हलमा नेपाली फिल्मको व्यापार घट्दो छ । तिहारमा रिलिज ‘चङ्गा चेट’ र मंसीरमा रिलिज भएको ‘प्रसाद’ पछि नेपाली फिल्मको व्यापार कठै बरी भन्न लायक छ ।

पुष महिनादेखि सुरु भएको नेपाली बक्सअफिसमा माघका फिल्म पनि डढेका छन् । माघ १८ गते रिलिज भएका ‘गोपी’, ‘सयकडा दश’ र ‘रणवीर’ले बक्सअफिस केहि हदसम्म चलायमान राख्ने अनुमानले पनि फेल खाएको छ । रिलिजको विकेन्ड पार गर्दा अंक गणितको पारदर्शीता सार्वजनिक नभएपनि तीनै फिल्मले दर्शक तान्न चुकेका छन् ।

तीन फिल्म मध्ये ‘गोपी’को व्यापार दयनीय छ । अन्य दुई फिल्मको पनि सुनाउन लायक व्यापार नभएको फिल्मवृतमा कानेखुसी चलिरहेका छन् । मल्टीप्लेक्स तर्फका स्टेशनमा तीनै फिल्मको शोजमा उल्लेख्य कटौती भएको छ ।

फिल्मकर्मीको मजाक 

दयनीय व्यापारलाई मध्येनजर गर्दै फिल्मकर्मीले सामाजिक संजालमा मजाक उडाउन थालेका छन् । वितरक गोपाल काजी कायस्थले फोटोसहितको स्टाटसमा लेखेका छन् ‘हलमा दर्शक नभएर झिंगा धपाउँदै, हलमा दर्शक आउँनको लागि फागुन १७ नै कुर्नुपर्ने भयो । जय ‘क्याप्टेन’ ।

त्यस्तै हास्यकलाकार दीपकराज गिरीले स्टाटसमा ‘दर्शक हराएको सुचना’ भनि पोस्ट गरेका छन् । वर्तमान बक्सअफिसको अवस्थालाई उनले कटाक्ष गरेको बुझ्न गाह्रो भएन । उनको स्टाटसमा ‘सयकडा दश’का मुख्य कलाकार मनोज गजुरेलले ‘भेटिदैछन्, थप खोजि जारी छ ।’ भनि कमेन्ट गरेका छन् । हास्य दुनियाँका स्टार मनोजले ‘सयकडा दश’ मार्फत फिल्ममा डेब्यु गरेका थिए । तर, पहिलो फिल्ममै उनलाई झट्का लागेको छ ।

दीपकराजको स्टाटसमा थुप्रै फिल्मकर्मीले दर्शक भेट्टाउन दशैँमा ‘छक्का पन्जा’ सिरिजलाई कुर्नुपर्ने भन्दै व्यंग हानेका छन् । 

यो साता रिलिज भएका नेपाली मात्र नभएर विदेशी फिल्ममा पनि दर्शक संख्या अति न्यून छ ।

प्रतिक्रिया दिनुहोस्