‘मेरो एउटा साथी छ २’मा सुदर्शन रिप्लेस, दिनेशको इन्ट्री



रंगखबर, काठमाडौँ – दश वर्ष अगाडी प्रदर्शनमा आएको लोकप्रिय फिल्म ‘मेरो एउटा साथी छ’को सिक्वेल बन्ने भएको छ । उक्त फिल्मका निर्माता प्रज्जवल शम्सेर राणाले सिक्वेल निर्माण गर्दैछन् ।

काम अगाडी बढाउने क्रममा फिल्मसँग निर्देशक दिनेश राउत जोडिएका छन् । मंगलबार निर्माता राणा र निर्देशक राउत बीच निर्माणको कागजी सम्झौता भएको छ । ‘मेरो एउटा साथी छ’लाई सुदर्शन थापाले निर्देशन गरेका थिए । राउत र थापा पछिल्लो समय लभस्टोरी फिल्ममा जमेका निर्देशक हुन् ।

युवापुस्तामा निक्कै लोकप्रियता कमाएको ‘मेरो एउटा साथी छ’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठ मुख्य भूमिकामा थिए । भने, जीवन लुइँटेल र दयाहाङ राईजस्ता कलाकार सहायक भूमिकामा थिए । यहि फिल्ममा निर्देशक राउतले सह-निर्देशनको काम गरेका थिए ।

आईकोर फिल्मसको व्यानरमा निर्माण हुने सिक्वेलका कलाकार फिक्स भैसकेका छैनन् । अहिले निर्देशकले कथा लेखन गरिरहेका छन् । यस व्यानरले यहि वर्ष ‘इन्टु मिन्टू लण्डनमा’ प्रदर्शनमा ल्याएको थियो । जसको निर्देशन रेनषा वान्तवा राईले गरेकी थिइन् । रेनषाले पनि ‘मेरो एउटा साथी छ’बाटै कोरियोग्राफीमा डेब्यु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्