प्रदीपको ‘लभ स्टेशन’लाई चुनौती मात्रै



रंगखबर, काठमाडौँ – ‘छक्का पन्जा ३’ रिलिज पश्चात नेपाली फिल्मले घरेलु बक्सअफिसबाट लगानी सुरक्षित गर्न सकेका छैनन् । आशा गरिएका ‘चङ्गा चेट’, ‘प्रसाद’, ‘बुलबुल’, ‘क्याप्टेन’ र ‘द ब्रेकअप’जस्ता फिल्मले पनि उत्साहको व्यापार गर्न सकेनन् ।

A004_C032_01302I

लगातार फिल्म फ्लप भैरहेको समयमा चैत २२ गते प्रदीप खड्काको ‘लभ स्टेशन’ रिलिज हुँदैछ । दर्शक खडेरीको मुखमा रिलिज हुँदै गरेको यो फिल्मलाई सर्वाधिक चुनौती छन् । 

पाँच फिल्म रिलिज भैसक्दासम्म प्रदीपलाई मिडियाले ठुलै हाइप दिदा पनि उनका फिल्म बक्सअफिसमा हिट हुन् सकेका छैनन् । नेपाली बक्सअफिसमा लगानी उठाउनु नै ठुलो कुरा भएकाले, उनिप्रति निर्माताको नजर गाडिनु ठुलो कुरा भएन। ‘प्रेमगीत’ सिरिजले राम्रो व्यापार गरेपनि निर्मातालाई सोचेजति लाभ दिन सकेन ।

विश्वव्यापी नियम अनुसार फिल्मले लगानीको शतप्रतिशत नाफा कमाउदा मात्र हिटको ट्याग दिइन्छ । झनै यो वर्ष रिलिज ‘रोज’ बक्सअफिसमा डिजास्टर सावित भएपछि, त्यसको प्रत्यक्ष असर ‘लभ स्टेशन’लाई पुग्ने भएको छ ।

प्रदीपका अघिल्ला फिल्मको तुलनामा ‘लभ स्टेशन’को हाइप यसपटक न्यून छ । उही गेटअप, उही हाउभाउ र एकै खाले फिल्मले प्रदीपप्रति दर्शकको रुचि घट्दैछ ।

गीत र लोकेशनमा भर पर्ने प्रदीप यसपटक त्यसमा पनि चुकेका छन् । ‘लभ स्टेशन’को ‘घाम जुन चाहिदैन’ बोलको गीतले १ महिनामा १० लाख भ्युज कटाउन पनि सकेको छैन । गीत फ्लप भएपनि ट्रेलरले भने राम्रै भ्युज बटुलेको छ । तर, युट्युबमा ट्रेलर हेर्ने सबै दर्शक हलसम्म पुग्छन भन्ने छैन ।

ट्रेलर रिलिज भएसँगै चोरी आरोपको विवादमा तानिदा प्रदीपलाई अर्को झट्का लाग्यो । सोलो रिलिजको जस्तै मौका पाएको ‘लभ स्टेशन’लाई पछिल्लो सातामा रिलिज भएका फिल्मले असर गर्न सक्छन । दुई साता अगाडी अक्षय कुमारको ‘केसरी’ र १ साता अगाडी ‘साइँली’, ‘शुभ लभ’ र बलिउडको ‘जंगली’जस्ता फिल्म रिलिज हुँदैछन् ।

त्यसैले ‘लभ स्टेशन’को सुरुवाती व्यापार उत्साहजनक हुन् जरुरि छ । दोस्रो सातामा रिलिज हुने ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ले स्वत: चेपुवामा पार्नेछन् । जसले गर्दा ‘लभ स्टेशन’लाई अझ गाह्रो पर्न सक्छ ।

‘लिलिबिली’मा रुचाइएको जोडी (प्रदीप र जसिता गुरुङ)प्रति यसपटक दर्शक उत्साह पनि त्यति देखिदैन । बक्सअफिसमा एभरेज फिल्मको जोडी दोहर्याए पनि मिडिया हाइप सिर्जना भएको छैन ।

प्रतिक्रिया दिनुहोस्