रंगखबर, काठमाडौँ – अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ३’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘परान’ बोलको लोक गीतमा अनमोल र सुहानाले ठुम्का लगाएका छन् ।

आशिष अविरलको संगीत रहेको गीतमा प्रविण सिंहले नयाँ ढंगको कोरियोग्राफी प्रस्तुत गरेका छन् । भव्य रुपमा खिचिएको गीतको भिडियो आकर्षक लाग्छ । टिपिकल नेपाली पहिरणमा अनमोल र सुहानाको जोडी निक्कै सुहाएको छ ।
संगीतकार अविरल र अन्जु पन्तको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द सृजना छ ।
झरना थापा निर्देशित फिल्म अब यो वर्षकै सर्वाधिक आशा गरिएको फिल्म हो । पहिलो गीत ‘जिन्दगी नै भन्दिन’ चार्टबस्टरमा हिट भैसकेको छ । यी दुवै गीतले फिल्मको हाइप बढाउन महत्वपूर्ण योगदान दिने आशा गरिएको छ ।
सुनिलकुमार थापा निर्मित फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल, रबिन्द्र झालगायतका कलाकारको अभिनय छ । थापाको पछिल्लो फिल्म ‘ए मेरो हजुर २’ बक्सअफिसमा सुपरहिट भएको थियो ।