गीतको लोकप्रियताको साख जोगाउला ‘साइँली’ले ?



रंगखबर, काठमाडौँ – २ वर्ष अगाडी गायक हेमन्त रानाको गीत ‘साइँली’ले नेपाली संगीतको क्षेत्रमा एक किसिमको भुइँचालो नै ल्यायो । सम्पति कमाउने मिठो सपनामा विदेश जाने युवापुस्ताको पारिवारिक पिडालाई दर्साइएको गीतले हरेक नेपालीको मन छोयो ।

गीतले गायक हेमन्त रानासँगै कलाकार गौरव पहारी र मेनुका प्रधानलाई पनि आम नेपाली माझ जोड्यो । मेनुका साइँलीको रुपमा रातारात चिनिइन । भने, गौरवलाई दर्शकले साइँला नामले चिन्न थाले । सम्भवत:  जोडीले फिल्मबाट यति धेरै लोकप्रियता र चर्चा पहिले पाएको थिएन । 

त्यसपछि संगीत दुनियाँमा विदेशी पिडालाई पोख्न थुप्रै गीत सार्वजनिक भए । कति सफल पनि भए, कति असफल । अब चैत १५ गते यहिँ गीतका सर्जक हेमन्तले निर्माण सहयोग गरेको फिल्म ‘साइँली’ प्रदर्शनमा आउदै छ ।

हेमन्तका अनुसार गीत र फिल्मको सम्बन्ध छ । हिट शिर्षक नै सापटी लिइएको फिल्मले साइँली/साइँलाको विदेशीक रोजगारमा जानु पुर्वदेखिको कथा उठाएको छ । भनेपछि, दर्शकले यो जोडीको पूर्ण प्रेमकथा हेर्न पाउने छन् । ‘नेपाली समाजमा साइँलीका थुप्रै कथा छन् । गीतमा एक साइँलीको कथा वाचन गरिएको थियो । यहाँ अर्को पात्र ‘साइँली’को कथा प्रस्तुत गरिएको छ ।’ गौरवले यो प्राय: अन्तर्वार्तामा भन्दै आइरहेको कुरा हो ।

गीतको लोकप्रियता र सफलताको साख

‘साइँली’ गीतले युट्युबमा १ करोड ९६ लाख बढी भ्युज कटाइसकेको छ । यहि सफलताको फाइदा उठाउन रामबाबु गुरुङले फिल्म निर्देशन गरे । होइन भने नेपाली समाजमा जेठीदेखि कान्छीसम्मका कथा पनि थिए । जो विदेश गएको श्रीमानको पर्खाइमै आधि उमेर सुम्पेका छन् ।

फिल्मको ट्रेलर, ‘नाँच माया’ र ‘प्याटप्याटे’ले गीतले औसत भ्युअर तानेका छन् । त्यसैले सोचेजतिको हाइप फिल्मले बनाउन सकेको छैन । फिल्मको प्रचारमा पनि खास तरिका अपनाइएको छैन । अब, दर्शकलाई हलसम्म पुग्न बजारमा टाँसीएका पोस्टर र युट्युबका सामग्रीले भूमिका खेल्नेछन् ।

गीतको साख जोगाउन फिल्मले मन जित्नु पर्नेछ । साथै, बक्सअफिसमा पनि यसले सफलताको झण्डा गाड्नु पर्छ । ‘व्यापार राम्रो नभएपनि दर्शक प्रतिक्रिया राम्रो छ, यो नै सफलता हो ।’ भनेर टिम उम्कन पनि पाउने छैनन् । 

यात ‘दर्शकले मन पराएर साथ दिनुभएको छ । हामीले समिक्षकका लागि फिल्म बनाएका हैनौँ ।’ भनेर निर्देशकले पनि बोल्न पाउने छैनन् । यी दुई तत्व देखिएनन भने मात्र ‘साइँली’ गीतको साख जोगाउन फिल्म सफल हुनेछ ।

कुन-कुन फिल्मसँग भिड्ने ?

गौरव, मेनुकासँगै दयाहाङ राईको पनि मुख्य भूमिका रहेको फिल्मसँग नेपाली ‘शुभ लभ’ र बलिउडको ‘जंगली’ भिड्दै छन् । रिलिज अगाडी दुवै प्रतिस्पर्धि फिल्मको हाइप औसत रहेकाले ‘साइँली’ले त्यति गाह्रो नपर्न सक्छ ।

हल र शोज संख्यामा ‘साइँली’ नै अगाडी हुन् सक्छ । अघिल्लो साता रिलिज फिल्मको व्यापार पनि कमजोर भएकाले त्यसको फाइदासमेत ‘साइँली’ले उठाउने छ ।

साथै, यो साता मल्टीप्लेक्सका केहि पर्दामा हलिउडको ‘डम्बो’ पनि रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्