पुष्पले मागे ३० लाख पारिश्रमिक !



रंगखबर, काठमाडौँ – पछिल्लो समय चलेका नेपाली कलाकारले एउटा फिल्मको लागि जति पारिश्रमिक माग गर्छन/लिन्छन, बक्सअफिसमा फिल्मले त्यति पैसा कमाउन सकेका छैनन् । अब बुझ्दा हुन्छ, नेपाली फिल्मको व्यापार कस्तो छ ?

अनमोल केसीको ५० लाख, प्रदीप खड्काको ४० लाख, पल शाहको २० लाख पारिश्रमिकलाई निर्माताले दिनु पर्ने भएपछि, यी कलाकारका फिल्मले बक्सअफिसमा १० करोड माथिको ग्रस कलेक्सन गर्न जरुरी छ । 

खस्किँदो व्यापार र गुणस्तरको विश्लेषण हुँदा कलाकारले माग्ने महँगो पारिश्रमिक पनि मुख्य समस्या भै देखापरेको फिल्मी पण्डितहरुको निष्कर्ष छ । यसैबीचमा उदाउँदै गरेका अर्का कलाकारले माग गरेको पारिश्रमिकले फिल्मवृत गर्माएको छ ।  

‘दर्पण छायाँ २’ र ‘मङ्गलम’मा मुख्य भूमिका निर्वाह गरेका पुष्प खड्का महँगो पारिश्रमिकका कारण चर्चामा आएका छन् । दार्जिलिङका एक निर्देशकको फिल्ममा उनले ३० लाख पारिश्रमिक माग गरेका छन् ।

उनले फिल्मको वान लाइन स्टोरी पनि सुनिसकेको बताए । निर्देशकले केहि कममा मिलाउन आग्रह गरेको र केहि दिनमै अन्तिम निर्णय हुने उनले बताएका छन् ।

पुष्प अहिले ब्याक टु ब्याक ठुला व्यानरका फिल्ममा अनुबन्धित भैरहेका छन् । ‘मारुनी’ र ‘दाल भात तरकारी’ उनका आगामी फिल्म हुन् । हुनत, सर्वाधिक पारिश्रमिक लिने शिर्ष स्थानका कलाकार भन्दा पुष्पले राम्रो अभिनयको जादु पस्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्