आक्रामक व्यापारले ‘ए मेरो हजुर ३’ शोज बढोत्तरी, हलिउड फिल्म विस्तापित



रंगखबर, काठमाडौँ – अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ३’ले प्रदर्शनको दुई दिनमा आक्रामक व्यापार गर्यो । बक्सअफिसको ठुलो आशा भोली आइतबारको छ । नयाँ वर्षको विदामा फिल्मले रेकर्ड तोड व्यापार गर्ने अनुमान छ ।

हलिउडका तीन फिल्म एकैपटक रिलिज भएपछि मल्टीप्लेक्सका शोजमा खुम्चिएको फिल्मले आइतबारदेखि पखेटा फिजाएको छ । झरना थापा निर्देशित फिल्मको अगाडी हलिउडका ‘हेलव्वाय’, ‘डम्बो’ र ‘पेट सेम्याटरी’ जस्ता फिल्म निरिह देखिएका छन् ।

‘ए मेरो हजुर ३’को आक्रामक अग्रिम बुकिङलाई मध्येनजर गर्दै मल्टीप्लेक्सले शोजमा बढोत्तरी गरेका छन् । यसका साथै, सुरुवाती सय बढी हलमा रिलिज भएको फिल्म आइतबार १ सय २० बढी स्टेशनमा प्रदर्शन हुने वितरक मनोज राठीले जानकारी दिए ।

यस्तो छ मल्टीप्लेक्सको नयाँ शोज

म्युजिकल लभस्टोरीले मल्टीप्लेक्समा पहिलो दिन ३०.८६ प्रतिशत शोज प्राप्त गरेको थियो । आइतबारबाट ४६.८९ प्रतिशत शोज ‘ए मेरो हजुर ३’को हिस्सामा हुनेछ ।

क्युएफएक्सले आफ्ना ९ स्टेशनमा २५ शोज बढोत्तरी गरेर ४० मा पुर्याएको छ । त्यस्तै बिग मुभिजले ७, सिडिसीले ६ र एफक्युब/बिएसआर/क्युजले समान ५/५ शोज निर्धारण गरेका छन् ।

आइतबार बिग/क्युजले २/२ र एफक्युब/बिएसआर/सिडिसीले समान १/१ शोज थप गरेका छन् ।

त्यस्तै ‘ए मेरो हजुर ३’सँगै रिलिज भएको ‘यात्रा’ शुक्रबारको शोजमा यथावत छ । ‘क्याप्टेन मार्भाल’, ‘साजाम’, हेलव्वाय’, ‘डम्बो’ र ‘पेट सेम्याटरी’ जस्ता हलिउड भेन्चरका भने अत्याधिक शोज कटौती भएका छन् ।

प्रतिक्रिया दिनुहोस्