‘ए मेरो हजुर ३’ले ब्युत्यायो सुस्ताएको बक्सअफिस



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ले लामो समयदेखि सुस्ताएको नेपाली बक्सअफिसलाई ब्युत्याएको छ ।

दशैँ पछाडी रिलिज फिल्मले शनिबार केहि राम्रो व्यापार गरेपनि शुक्रबार सुखद व्यापार गर्न सकेका थिएनन् । तर, ‘ए मेरो हजुर ३’ले शुक्रबारबाटै उत्कृष्ट व्यापारको थालनी गरेको छ । त्यसैले शनिबार र आइतबारका लागि शोज र हल संख्या थपिएका छन् ।

वितरक मनोज राठीले दिएको जानकारी अनुसार पहिलो दिन सिंगलदेखि मल्टीप्लेक्समा  ८० देखि शतप्रतिशत सम्मको अकुपेन्सी भर्पाई गर्न सफल भयो ।

यो वर्षको ‘छक्का पन्जा ३’ पछाडीकै बम्पर रिपोर्ट ‘ए मेरो हजुर ३’ले प्रस्तुत गर्ने राठीले आशा व्यक्त गरे । फिल्मको अंक भने सार्वजनिक भैसकेको छैन । वर्षको अन्तिम दिन परेको शनिबार र २०७६ सालको पहिलो दिन फिल्मले दोब्बर व्यापार गर्ने अनुमान गरिएको छ ।

फिल्मको ‘वर्ड अफ माउथ’ पनि राम्रो भएकाले फिल्मवृतमा खुसियाली छाएको छ । ‘ए मेरो हजुर ३’को व्यापारलाई हेरेर हराएका दर्शक फर्किएको लगायतका स्टाटस फिल्मकर्मीले पोस्ट्याउन थालेका छन् ।

झरना थापा निर्देशित फिल्ममा अनमोल केसी र सुहाना थापाले मुख्य भूमिका निर्वाह गरेका छन् । डेब्यु गर्ल सुहानाले फिल्मबाट उत्कृष्ट कामको तारिफ समेत पाइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्